राजविराज / गर्मी र वर्षातको मौसम बढेसँगै सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सर्पदंशका बिरामीहरूको चाप उल्लेख्य रूपमा बढेको छ। मौसममा आएको परिवर्तन, अत्यधिक गर्मी र निरन्तरको वर्षाका कारण सर्पहरू जमिनमुनिका दुलो र झारपातबाट बाहिर निस्कन थालेपछि टोकाइका घटनामा वृद्धि भई अस्पतालमा बिरामीको चाप बढेको हो। शुक्रबार मात्रै जिल्लाका विभिन्न पालिकाका एक बालकसहित ५ जना सर्पदंशबाट सिकिस्त भई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका छन्।
अस्पतालका आकस्मिक कक्षका सिनियर अहेब सन्तोष दासका अनुसार भर्ना हुनेहरूमा तिलाठी कोइलाडी गाउँपालिका–८ का ९ वर्षीय बालक ध्रुवकुमार साह, राजविराज नगरपालिका–३ की ५५ वर्षीया हजरा खातुन, महदेवा गाउँपालिका–३ की २३ वर्षीया गुलाबदेवी यादव तथा विष्णुपुर गाउँपालिका–५ की ३२ वर्षीया शुशिलादेवी मण्डल रहेका छन्। भर्ना भएका बिरामीहरूमध्ये शुशिलादेवी मण्डलको अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ भने अन्यको उपचार जारी छ।
अस्पताल प्रशासनका अनुसार हाल दैनिक ५ देखि ७ जनासम्म सर्पदंशका बिरामीहरू आपत्कालीन उपचारका लागि आउने गरेका छन्। बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै अस्पतालमा पर्याप्त मात्रामा ‘एन्टीस्नेक भेनम’ (Anti-Snake Venom) औषधि स्टक राखिएको अस्पताल प्रशासनले जनाएको छ। यसका साथै, अत्यधिक गर्मी र दूषित पानीका कारण मौसमी परिवर्तनसँगै झाडापखाला (डायरिया), ज्वरो लगायतका अन्य रोगबाट पीडित बिरामीहरूको चापसमेत अस्पतालमा बढेकाले विशेष सतर्कता अपनाउन र टोकेमा तुरुन्त अस्पताल आउन चिकित्सकहरूले आग्रह गरेका छन्।






