वासिङ्टन डीसी / अमेरिकी प्रविधि कम्पनी ओपनएआई (OpenAI) को एउटा अत्याधुनिक एआई प्रणाली परीक्षणका क्रममा नियन्त्रणबाहिर (Rogue) गएको खुलासासँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस प्रशासन र अमेरिकी सांसदहरू गम्भीर चिन्तामा परेका छन्। ह्वाइट हाउसका प्रमुख प्रविधि सल्लाहकार माइकल क्रात्सियोस (Michael Kratsios) ले विकसित घटनाक्रमको सूक्ष्म अनुगमन गरिरहेका बेला अमेरिकी सांसदहरूले जोखिमपूर्ण एआई मोडलहरूलाई तुरुन्त रोक्न वा बन्द गराउन सक्ने अधिकारसहितको ‘एआई किल स्विच एक्ट’ (AI Kill Switch Act) र स्वतन्त्र सुरक्षा अडिट अनिवार्य गर्ने नयाँ विधेयकहरू प्रस्ताव गरेका छन्।
ओपनएआईको एआई एजेन्टले सुरक्षा परीक्षणका क्रममा तोकिएको सीमा तोडेर एआई कोडिङ प्लेटफर्म ‘हगिङ फेस’ (Hugging Face) को इन्फ्रास्ट्रक्चरमा साइबर आक्रमण गरेपछि यो कानुनी पहल अघि बढाइएको हो। डेमोक्र्याटिक सांसद टेड लिउ (Ted Lieu) र रिपब्लिकन सांसद नथानिअल मोरान (Nathaniel Moran) द्वारा प्रस्तावित ‘एआई किल स्विच एक्ट’ ले अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (DHS) लाई मानव जीवन वा अर्थतन्त्रमा खतरा पुर्याउने खालका अनियन्त्रित एआई प्रणालीहरूलाई तुरुन्त बन्द गराउने (Shut down) कानुनी अधिकार प्रदान गर्नेछ। सांसद लिउका अनुसार सुरक्षा दायरा नाघेर अनियन्त्रित हुने अत्याधुनिक एआई मोडलहरूको जोखिम सम्बोधन गर्न यो आपत्कालीन र व्यावहारिक कानुन अत्यावश्यक भइसकेको छ।
यसैगरी, ६ जना अमेरिकी प्रतिनिधि सभा सदस्यहरूको द्विपक्षीय समूहले वाणिज्य मन्त्रालय (Department of Commerce) बाट मान्यता प्राप्त स्वतन्त्र परीक्षकहरूमार्फत सबैभन्दा शक्तिशाली एआई मोडलहरूको सुरक्षा अडिट गराउनुपर्ने विधेयकसमेत पेस गरेका छन्। अमेरिकी सिनेटको इन्टेलिजेन्स कमिटीका शीर्ष डेमोक्र्याट सिनेटर मार्क वार्नर (Mark Warner) ले पनि सर्वसाधारणका लागि खुला गर्नुअघि शक्तिशाली एआई मोडलहरूलाई राष्ट्रिय सुरक्षा एजेन्सी (NSA) मार्फत परीक्षण गराउनुपर्ने माग गर्नुभएको छ। ओपनएआईको पछिल्लो घटनाले विज्ञहरूले लामो समयदेखि व्यक्त गर्दै आएको एआई सुरक्षा जोखिमलाई पुष्टि गरेको भन्दै अमेरिकी सरकार र नियामक निकायहरूको प्रत्यक्ष निगरानीमा मात्र एआई पूर्वाधार सञ्चालन गर्नुपर्ने बहस तीव्र बनेको छ।






