मलङ्गवा / सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर पलारमा रहेको प्राथमिक विद्यालय विगत चार वर्षदेखि बैंकको कालो सूची (ब्ल्याक लिस्ट) मा परेको छ। २०७९ सालमा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत विद्यालय भवन निर्माण गर्दा निर्माण सामग्री आपूर्ति गर्ने व्यवसायीको रकम भुक्तानी हुन नसकेपछि उत्पन्न चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दाका कारण विद्यालयको बैंक खाता रोक्का भई कालो सूचीमा परेको हो।
भवन निर्माण सामग्री बापतको रकम भुक्तानीका लागि विद्यालयले उपलब्ध गराएको चेकमा रकम नभएपछि सम्बन्धित व्यवसायीले अदालतमा चेक अनादरको मुद्दा दायर गरेका थिए। सोही मुद्दाका आधारमा विद्यालयको आधिकारिक खाता रोक्का भएपछि चार वर्ष बितिसक्दा पनि कालो सूचीबाट हटाउन कुनै ठोस पहल हुन सकेको छैन। विद्यालयका वर्तमान प्रधानाध्यापक सुरेश पासवानले नगरपालिकाले पर्याप्त वास्ता नगर्दा समस्या थप जटिल बनेको र अधुरो भवन निर्माणका लागि अन्य निकायबाट बजेट ल्याउन नसकिएको बताउनुभएको छ।
विद्यालय नै कालो सूचीमा परेपछि लालबन्दी नगर कार्यपालिकाको विशेष निर्णयमार्फत शिक्षकहरूको तलब, प्रशासनिक खर्च, मसलन्द तथा दिवाखाजाको रकम प्रधानाध्यापक पासवानको व्यक्तिगत खातामा निकासा गरी व्यावहारिक रूपमा विद्यालय सञ्चालन गरिँदै आइएको छ। त्यसबेला भवन निर्माणका लागि प्राप्त ४५ लाख रुपियाँको खर्च पारदर्शी नभएको र आफूलाई अन्योलमा राखेर काम गरिएको तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष कोमल महतोको आरोप छ। यता लालबन्दी–१ का वडा सदस्य अशोककुमार महतो र लालबन्दी नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटीले विद्यालयलाई कालो सूचीबाट हटाउन बारम्बार छलफल र समन्वय गरिए पनि कानुनी जटिलताका कारण निकास निस्कन नसकेको जनाउनुभएको छ। कक्षा ५ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल ६७ जना विद्यार्थी अध्ययनरत छन् भने ६ जना शिक्षक-कर्मचारी कार्यरत रहेका छन्।
(गोरखापत्र अनलाइन मा प्रकाशित समाचारका आधारमा तयार पारिएको)






