काठमाडौँ महानगरद्वारा ट्रमा सेन्टरलाई ८० लाखको इम्प्लान्ट हस्तान्तरण: विपन्न र बेवारिसे बिरामीले निःशुल्क उपचार पाउने
शिक्षाखबर डेस्क
२ घण्टा अगाडि
no immg

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरलाई ८० लाख रुपियाँ बराबरको इम्प्लान्ट तथा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचारमा प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले महानगरपालिकाले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। हस्तान्तरण कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ट्रमा सेन्टरमा देशभरबाट जटिल प्रकृतिका दुर्घटनाका बिरामी आउने भएकाले आकस्मिक अवस्थामा एक-एक मिनेट महत्त्वपूर्ण हुने बताउनुभयो। गम्भीर अवस्थाका बिरामीलाई समयमै उपचार उपलब्ध गराउनु ठुलो मानवीय दायित्व भएको उल्लेख गर्दै उहाँले आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने महानगरको उद्देश्य रहेको स्पष्ट पार्नुभयो।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले महानगरले उपलब्ध गराएको इम्प्लान्टले आर्थिक रूपमा कमजोर बिरामीलाई ठुलो राहत पुग्ने बताउनुभयो। दुर्घटनापछि हाडजोर्नी जोड्न प्रयोग गरिने इम्प्लान्टको मूल्य दुई सयदेखि १० लाख रुपियाँसम्म पर्ने र यो अत्यन्त महँगो हुने भएकाले धेरै बिरामीले समयमै उपचार पाउन कठिनाइ भोग्दै आएको उहाँको भनाइ छ। डा. मरासिनीका अनुसार महानगरले उपलब्ध गराएका यी सामग्री शतप्रतिशत विपन्न बिरामीकै उपचारमा प्रयोग गरिनेछ। गत आर्थिक वर्षमा पनि अस्पतालले लक्षित वर्गबाहेकका विपन्न बिरामीहरूका लागि दुई करोड १० लाख रुपियाँ बराबरको निःशुल्क उपचार सेवा प्रदान गरेको जानकारी दिँदै उहाँले चालु आर्थिक वर्षभित्रै ट्रमा सेन्टरमा एमआरआई (MRI) सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा. विवेक आचार्यले दुई वर्षदेखिको छलफलले मूर्त रूप पाएको भन्दै महानगर र ट्रमा सेन्टरबिचको सहकार्यले कमजोर वर्गलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले महानगरभित्रका विशिष्टीकृत अस्पतालहरूसँग सहकार्य गर्दै स्वास्थ्य सेवा सुदृढ बनाउने नीति अनुसार यो सहयोग गरिएको जानकारी दिनुभयो। सामान्य उपचारका लागि विशिष्टीकृत अस्पताल पुग्नुपर्ने बाध्यता अन्त्य गर्न महानगरका सबै वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजालले आर्थिक अभावमा उपचार नपाउने बिरामीका लागि काठमाडौँ महानगरपालिकाको यो कदम उदाहरणीय रहेको बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित खबर