नयाँ दिल्ली / भारतमा चिकित्सा शिक्षाको परीक्षा प्रणालीमा सुधार र विद्यार्थी हितका लागि २६ दिन लामो अनशन तोक्नुभएका वातावरणविद् तथा सामाजिक अभियन्ता सोनम वाङ्चुक अस्पताल भर्ना हुनुभएपछि उहाँमाथि प्रहरीले कडा पहरा र निगरानी बढाएको उहाँकी पत्नी गीताञ्जली जे आङमोले दाबी गर्नुभएको छ। सामाजिक सञ्जाल ‘X’ (ट्विटर) मा अस्पताल परिसरमा खटिएका सुरक्षाकर्मीहरूको तस्बिर सार्वजनिक गर्दै गीताञ्जलीले नयाँ दिल्लीको सफदरजङ र हाल मेदान्ता अस्पतालको मुख्य ढोका, लिफ्ट, र आईसीयू (ICU) बाहिर व्यापक रूपमा प्रहरी परिचालन गरिएको जानकारी दिनुभएको छ। वाङ्चुकलाई हिरासतमा नराखिएको भनी अदालतले प्रस्ट पारिसक्दा पनि कसलाई भेट्न दिने र कसलाई नदिने भन्ने निर्णय प्रहरीले नै गरिरहेको भन्दै उहाँले प्रबुद्ध लोकतन्त्रमा नागरिकको अधिकार र कानुनको पालना कसरी भइरहेको छ भनी सरकारमाथि प्रश्न उठाउनुभएको छ।

भारत सरकारका केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंह तथा विभिन्न राजनीतिक दलका ६५ भन्दा बढी सांसदहरूसँगको दुई दिने निरन्तर छलफलपछि सरकारबाट लिखित आश्वासन प्राप्त भएपछि वाङ्चुकले शुक्रबार मध्यराति १२:३० बजे जुस र चिकेन सुप खाएर अनशन स्थगित गर्नुभएको थियो। NEET लगायतका चिकित्सा परीक्षामा हुने धाँधली र प्रश्नपत्र चुहावटका कारण ज्यान गुमाएका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिने, परीक्षा प्रणालीमा व्यापक सुधार गर्ने, र शान्तिपूर्ण प्रदर्शनकारीमाथि कुनै कारबाही नगर्ने विषयमा संसदमा छलफल गर्न सरकार तयार भएको छ। अनशन तोड्दै वाङ्चुकले सरकारी प्रतिवद्धताप्रति खुसी व्यक्त गर्दै आन्दोलित युवाहरूलाई कुनै पनि प्रकारको हिंसात्मक गतिविधि नगर्न र शान्ति कायम राख्न अपिल गर्नुभएको छ।
उता, वाङ्चुकले अनशन स्थगित गरेपछि कक्रोच जनता पार्टी (CJP) का संस्थापक अभिजित दिपकेले २६ दिनको त्याग र साहसका लागि आभार व्यक्त गर्दै आन्दोलनको संचेतना जगाउन सफल भएको बताउनुभएको छ। तर, परीक्षा धाँधलीको जिम्मेवारी लिँदै भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म जन्तर मन्तरमा पार्टीको शान्तिपूर्ण प्रदर्शन निरन्तर जारी रहने उहाँले प्रस्ट पार्नुभएको छ। परीक्षा प्रणालीमा जबाफदेहिता र जिम्मेवारी नतोकिएसम्म युवाहरूको यो देशव्यापी प्रदर्शन जारी रहने देखिएको छ।






