डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा: सेती प्रादेशिक अस्पतालमा ‘मेडिकल सपोर्ट’ जारी
शिक्षाखबर डेस्क
३ घण्टा अगाडि
no immg

काठमाडौँ / सुदूरपश्चिममा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको सत्याग्रहको सहमतिपूर्ण निकास खोज्न सरकारले उच्चस्तरीय टोली परिचालन गर्दै वार्ताको प्रयासलाई तीव्र बनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको विशेष निर्देशनमा डा. केसीसँग प्रत्यक्ष वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल कैलालीको धनगढी पुग्नुभएको छ। मन्त्री पोखरेलले शुक्रबार साँझ नै डा. केसीसँग टेलिफोन संवाद गर्नुभएको थियो भने सोही संवाद लगत्तै समस्या समाधानका लागि मन्त्रालयका सचिव पौडेललाई वार्ताको जिम्मेवारी दिएर धनगढी पठाइएको हो।

सरकारी प्रयासलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य मन्त्रालयका सचिवसमेत भोलि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम तय भएको छ। उता, लगातारको अनशनका कारण स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रँदै गएपछि डा. केसीलाई शनिबार आवश्यक मेडिकल सपोर्टका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ। सरकारले डा. केसीका मागहरूप्रति लचिलो हुँदै वार्ता टोलीमार्फत सहमति जुटाएर अनशन तोडाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर