गत आर्थिक वर्ष नेपालबाट १२ अर्ब ६३ करोडको अलैँची निर्यात: ऐतिहासिक कीर्तिमानसहित किसानले पाए उच्च मूल्य
शिक्षाखबर डेस्क
४ घण्टा अगाडि
no immg

काठमाडौँ / गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै अलैँची निर्यात गरेको छ । भन्सार कार्यालय काँकडभिट्टाका अनुसार गत आवमा १२ अर्ब ६३ करोड रुपियाँ बराबरको ६३ लाख ८५ हजार ८७० किलो अलैँची निर्यात भएको छ । यो निर्यात त्यसअघिको आवको तुलनामा चार अर्ब ९६ करोड रुपियाँले बढी हो । आव २०८१/८२ मा ४२ लाख ९४ हजार ५५० किलो अलैँची निर्यात भएको थियो ।

झापाको काँकडभिट्टा हुँदै बाहिरिने अलैँची मूल्य र परिणामका हिसाबले अहिलेसम्मकै उच्च रहेको अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो । सिजनको सुरुवातदेखि नै एकै किसिमको मूल्यदर रहेकाले पनि यो वर्ष ९० प्रतिशत आम्दानी प्रत्यक्ष किसानको हातमा पुगेको उहाँले बताउनुभयो ।

समीक्षा अवधिमा इलामबाट मात्रै दुई अर्ब ५० करोड रुपियाँ मूल्य बराबरको अलैँची निकासी भएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लागत रूपमा फरक फरक तथ्याङ्क नभए पनि सबै जिल्लाको बिक्री केन्द्र झापाको बिर्तामोड नै हो । त्यहाँ पुगेको अलैँचीको तथ्याङ्क हेर्दा इलामले पनि राम्रो हिस्सा ओगटेको छ ।” उहाँका अनुसार अघिल्ला वर्षमा प्रतिमन ७० हजार रुपियाँमा कारोबार हुने अलैँची गत आवमा एक लाख छ हजार रुपियाँसम्म कारोबार भयो । किसानले सोचेभन्दा पनि रम्रो मूल्य पाएको उहाँको भनाइ छ ।

अलैँचीबाट राम्रो प्रतिफल पाइरहेका किसान यतिबेला अलैँचीका बिरुवा लगाउन व्यस्त छन् । किसानले अलैँची विकास केन्द्रदेखि व्यावसायिक किसानका बगानबाट समेत बिरुवा खरिद गरेर अलैँची लगाइरहेका छन् ।

जमिनको उचाइका आधारमा भार्लाङ, रामसाही, गोलसारी, चिबे, नयाँ जिर्मलेलगायतका जातका अलैँची लगाउने गरेको किसान बताउँछन् । इलामको माईजोगमाई–५ का किसान महेश सापकोटाले यो सिजनमा डेढ लाख बिरुवा बिक्री गरेको बताउनुभयो ।

यो वर्ष २५ मन सुक्खा अलैँची बिक्री गरेका उहाँले आगामी वर्ष भने ५० मन अलैँची उत्पादन हुने अनुमान गर्नुभएको छ । यस वर्ष उहाँले भार्लाङ जातको अलैँची खोटाङ, पाँचथर, ताप्लेजुङसम्म पठाएको र पश्चिमी जिल्लाबाट पनि माग आइरहेको बताउनुभयो । “रोग लागेको छैन, बाहिरी जिल्लाबाट माग निकै आएको छ । गत वर्ष र यो वर्ष यहाँको उत्पादन पनि निकै राम्रो भयो,” सापकोटाले भन्नुभयो ।

अलैँचीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले अलैँची खेती पनि विस्तार गरिरहेका छन् । देशका ५४ जिल्लामा अलैँची खेती हुँदै आएको छ । अलैँची विकास केन्द्रका अनुसार देशभर १४ हजार ३८३.५ हेक्टर जमिनमा अलैँची खेती गरिन्छ । विशेष गरी इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटालगायतका कोशीका पहाडी जिल्लामा अलैँची सबैभन्दा बढी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । मसालाका रूपमा प्रयोग गरिने अलैँची मुख्यतः भारत निर्यात हुने गर्छ । स्वास्थ्यका हिसाबले पनि अलैँचीको प्रयोग उत्तम मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खबर