गण्डकी प्रदेशमा राइड सेयरिङको पहिलो औपचारिक अनुमति: ‘सवारी सेवा नेपाल’ ले पोखराबाट सेवा थाल्दै
शिक्षाखबर डेस्क
३ घण्टा अगाडि
no immg

पोखरा / देशमै पहिलो पटक कानुनी ढाँचा तयार गरी राइड सेयरिङ सेवालाई मान्यता दिएको गण्डकी प्रदेशमा पहिलो पटक औपचारिक रूपमा सेवा सञ्चालनको अनुमति प्रदान गरिएको छ। चल्तीका अन्य राइड सेयरिङ एप सञ्चालकहरू अझै सूचीकरणमा नआइसकेको अवस्थामा ‘सवारी सेवा नेपाल लिमिटेड’ ले यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीबाट सेवा सञ्चालनको आधिकारिक अनुमति पाएको हो। अनुमति पाएसँगै ऐनको व्यवस्था अनुसार कम्पनीले २० वटा स्कुटर खरिद गरिसकेको र यही साताभित्रै पोखराबाट औपचारिक सेवा सुरु गर्ने तयारी गरेको सवारी सेवाका अध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। कम्पनीले राइडर र सेवाग्राही दुवैका लागि छुट्टाछुट्टै मोबाइल एप्लिकेसन निर्माण गरिसकेको छ भने चारपाङ्ग्रे गाडीको खरिद प्रक्रियासमेत अघि बढाएर काठमाडौँलगायत अन्य प्रमुख सहरहरूमा समेत सेवा विस्तार गर्ने योजना बनाएको छ।

गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६, राइड सेयरिङ नियमावली २०८२ र प्रदेश आर्थिक ऐन, २०८३ बमोजिम कास्कीमा दर्ताका लागि ५ वटा कम्पनीहरूले आवेदन दिएका थिए। कार्यालय प्रमुख ढाकाप्रसाद शर्माका अनुसार सजिलो नेपाल, सवारी सेवा नेपाल, इकोमो नेपाल, जेम्स ग्रिन इलेक्ट्रो मोबिलिटी र मुभ इन नेपाल दर्ता प्रक्रियामा आए पनि सवारी सेवा नेपालले मात्र सम्पूर्ण मापदण्ड पूरा गरी अनुमति पाएको छ। प्रदेश सरकारले साउन १५ गतेभित्र अनिवार्य रूपमा सूचीकृत हुन पूर्वसूचना जारी गरिसकेको छ भने तोकिएको समयभित्र अनुमति नलिई सञ्चालन गरिएका गैरकानुनी राइड सेयरिङ सेवालाई एक लाख रुपियाँसम्म जरिबाना गर्ने कानुनी व्यवस्था गरिएको छ। प्रदेश सरकारले दुईपाङ्ग्रे अनुमतिका लागि २५ हजार, चारपाङ्ग्रेका लागि ५० हजार र दुवैका लागि ७० हजार रुपियाँ दर्ता शुल्क कायम गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर