गुल्मीको विकट ग्वाघा मावि बन्यो नमुना अध्ययन केन्द्र: ‘पढ्दै कमाउँदै’ अभियान र अक्षयकोषबाट शैक्षिक क्रान्ति
शिक्षाखबर डेस्क
११ श्रावण २०८३, सोमबार
no immg

गुल्मी / गुल्मी सदरमुकाम तम्घासबाट करिब ५७ किलोमिटर टाढा चन्द्रकोट गाउँपालिकामा रहेको ग्वाघा माध्यमिक विद्यालय भौतिक सुन्दरतासँगै उत्कृष्ट शिक्षा, कडा अनुशासन र नवप्रवर्द्धनात्मक सिकाइका कारण जिल्लाकै अनुकरणीय अध्ययन केन्द्रका रूपमा स्थापित भएको छ। २०१४ सालमा प्राथमिक विद्यालयका रूपमा स्थापना भई २०७७ देखि माध्यमिक (११ र १२) तह सञ्चालन गरिरहेको यस विद्यालयले शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विद्यार्थीलाई प्रविधि र मोबाइलको लतबाट टाढा राख्दै व्यावहारिक सिप सिकाउन ‘पढ्दै कमाउँदै’ अभियान सञ्चालन गर्दै आएको छ। विद्यालयको बाँझो जमिनमा विद्यार्थीहरूले आफैँ उत्पादन गरेको लसुन, खुर्सानी र सिमी स्थानीय बजारदेखि बुटवलसम्म बिक्री गरेर गत वर्ष कृषि उत्पादनबाट मात्रै दुई लाख ५० हजार रुपियाँ आम्दानी गरेका थिए। विद्यालयमा सिकेको कृषि सिप प्रयोग गर्दै कक्षा ११ मा अध्ययनरत सुलभ कार्की र सुमन रानाजस्ता विद्यार्थीहरूले घरमै व्यावसायिक रूपमा खुर्सानी, किवी र च्याउ खेतीसमेत सुरु गरिसकेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर रानाको व्यक्तिगत सक्रियता र नेतृत्वमा निर्माण गरिएको आकर्षक हरियाली बगैँचा, सफा परिसर र सिकाइमैत्री वातावरणले विद्यालयको शोभा बढाएको छ। उच्च शिक्षा सञ्चालनका लागि समुदायको अभूतपूर्व सहयोग प्राप्त भई २४८ जना चन्दादाता र १५३ जना संस्थापकबाट ५० हजारदेखि ३ लाख २६ हजार रुपियाँसम्म सङ्कलन भएर हाल एक करोड रुपियाँभन्दा बढीको विशाल अक्षयकोष खडा भइसकेको छ। साथै, देउसीभैलोमार्फत सङ्कलित रकमबाट स्थापना गरिएको ६ लाख रुपियाँको विद्यार्थी कल्याणकारी कोषमार्फत विद्यार्थीका सिर्जनात्मक गतिविधिहरू सञ्चालन गरिँदै आएको छ। विगत आठ वर्षदेखि प्रधानाध्यापक प्रकाश थापाले पाँच वर्षीय कार्ययोजना बनाएर नेतृत्व सम्हालेपछि विद्यालयले कक्षा ५, ८ र १० को गाउँपालिकास्तरीय परीक्षामा शतप्रतिशत नतिजासहित उत्कृष्ट स्थान हासिल गर्दै आएको छ।

विद्यालय व्यवस्थापनलाई पूर्ण रूपमा दलगत राजनीतिबाट मुक्त राखिएकाले पनि शैक्षिक वातावरण सुधारमा ठुलो मद्दत पुगेको अध्यक्ष रानाको अनुभव छ। जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री र चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले ग्वाघा माविलाई विकट क्षेत्रको उत्कृष्ट मोडलका रूपमा प्रशंसा गर्नुभएको छ। हाल २४८ जना विद्यार्थी र २२ जना शिक्षक-शिक्षिका कार्यरत रहेको यस विद्यालयमा नजिकैको निजी विद्यालयसमेत समायोजन भइसकेको छ। गाउँबाट तीव्र बसाइँसराइ भइरहेको अवस्थामा पनि यस विद्यालयका विद्यार्थी अन्यत्र जाँदैनन्, उल्टै छिमेकी कालीगण्डकी गाउँपालिका र बागलुङको बरेङबाट समेत अभिभावकहरूले आफ्नै खर्चमा गाडी व्यवस्था गरी आफ्ना बालबालिकालाई अध्ययनका लागि ग्वाघा माविमा पठाउने गरेका छन्।
(source: gorkhapatraonline)

प्रतिक्रिया
सम्बन्धित खबर