काठमाडौँ / कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल (एपिएफ) स्कुलमा ११ करोड रुपियाँभन्दा बढी रकम हिनामिना भएको गम्भीर प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा औपचारिक अनुसन्धान अघि बढाएको छ। अख्तियारले सशस्त्र प्रहरी निरीक्षक तथा विद्यालयकी लेखा अधिकृत कल्पना गुरुङ र एमडी एड्भेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा (टासी) माथि भ्रष्टाचार कसुरमा विस्तृत छानबिन थालेको हो। यसअघि असार २० गते सशस्त्र प्रहरीको आन्तरिक छानबिन टोलीले आर्थिक हिनामिनामा प्रत्यक्ष संलग्नता रहेको निष्कर्ष निकालेपछि उनीहरूलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा यो प्रकरणमा ठुलो मात्रामा सरकारी/सार्वजनिक सम्पत्तिको दुरुपयोग र भ्रष्टाचारसमेत भएको देखिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँले अख्तियारलाई पत्राचार गरी मुद्दा हस्तान्तरण गरेका थिए। सरकारी निकायको पत्राचारपछि अख्तियारले आइतबारदेखि भ्रष्टाचार निवारण ऐनअनुसार औपचारिक अनुसन्धान प्रक्रिया अघि बढाएको हो। हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले दुवै आरोपीहरूलाई १० दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको छ। अख्तियारले अब विद्यालयको वित्तीय अभिलेख, बैंक खाता र अन्य जोडिएका पक्षहरूबारे थप गहिरो अनुसन्धान गर्ने जनाएको छ।






