नारायणी अस्पतालका सबै चिकित्सकद्वारा सामूहिक राजीनामा
शिक्षाखबर डेस्क
१२ श्रावण २०८३, मंगलवार
no immg

वीरगन्ज । पर्सास्थित नारायणी अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथि कुटपिट तथा जिल्ला प्रशासन कार्यालयभित्रै भएको दुर्व्यवहारको विरोधमा उत्रिएका नारायणी अस्पतालका सम्पूर्ण चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आफ्ना माग सम्बोधन नभएपछि सामूहिक राजीनामा बुझाएका हुन्। अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार कुल ७० जना चिकित्सकहरू कार्यरत रहेको यस अस्पतालका ३० जनाले सोमबार राति १० बजे नै मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष लिखित राजीनामा पत्र बुझाइसकेका छन् भने बाँकी ४० जना चिकित्सकहरूले पनि हस्ताक्षर सङ्कलन गरी राजीनामा प्रक्रिया पूरा गरिसकेका छन्।

आन्दोलनरत चिकित्सकहरूले यदि भोलिसम्ममा पर्साका प्रमुख जिल्ला अधिकारी र एसपीले राजीनामा नदिएमा तथा दोषीहरूमाथि कडा कारबाही नभए देशभरका सम्पूर्ण सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले समेत सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्। अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निर्भयताका साथ काम गर्ने सुरक्षित वातावरणको सुनिश्चितता र आपराधिक आक्रमणमा संलग्नहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कडा कारबाही हुनुपर्ने माग राखेका छन्। चिकित्सकहरूको यो सामूहिक राजीनामासँगै मध्यतराईको मुख्य सरकारी अस्पताल नारायणी अस्पतालको सेवा पूर्ण रूपमा ठप्प बनेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर