बिर्तामोड (झापा) । बिर्तामोड–१ स्थित ग्रिन फिल्ड वल्र्ड स्कुलको प्राङ्गण सोमबार विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान बन्यो। आँखैअगाडि एकपछि अर्को गर्दै सररर उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानका नमूनाहरू देखेर विद्यार्थी, अभिभावक र स्थानीयबासी एकाएक अचम्मित र रोमाञ्चित बनेका थिए। भारतको प्रतिष्ठित ‘एरोबे’ कम्पनीको प्राविधिक सहकार्यमा आयोजित यस विशेष प्रयोगात्मक हवाई प्रदर्शनीले कक्षा १२ सम्म अध्ययन अध्यापन हुने यस विद्यालयका विद्यार्थीहरूलाई सिद्धान्तमा सीमित विज्ञान र प्रविधिसँग प्रत्यक्ष रूपमा साक्षात्कार गराएको छ।
प्रदर्शनीसँगै विद्यालय परिसरमा करिब ४० लाख रुपियाँको लगानीमा निर्मित ‘एरोबे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ को समेत औपचारिक उद्घाटन गरिएको छ। विद्यालयका संस्थापक अध्यक्ष एवम् राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत र बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा. शरद् भट्टराईले संयुक्त रूपमा उक्त आधुनिक प्रयोगशालाको उद्घाटन गर्नुभयो। कार्यक्रममा संस्थापक अध्यक्ष बस्नेतले परम्परागत पाठ्यपुस्तकमा मात्रै सीमित शिक्षाले भविष्यका चुनौतीहरू सामना गर्न नसक्ने स्पष्ट पार्दै विद्यार्थीहरूलाई आफैँ नयाँ प्रविधि सिर्जना गर्न सक्षम बनाउन यो ल्याबले ठुलो टेवा पुर्याउने बताउनुभयो।
विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेत, कोअर्डिनेटर बर्नाट लामा र सहायक प्रधानाध्यापक रोजीना कार्कीका अनुसार यो प्रयोगशाला नेपालमै पहिलोपटक ‘एरोबे’ कम्पनीसँगको सहकार्यमा स्थापना गरिएको हो। ल्याबमार्फत विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) शिक्षासँग जोड्दै रोबोट निर्माण, कोडिङ, प्रोग्रामिङ, डिजाइन थिंकिङ र स्वचालन जस्ता व्यावहारिक सीपहरू सहज रूपमा सिकाइने छ। प्रमुख अतिथि डा. भट्टराईले आधुनिक शिक्षामा गरिएको यो दूरदर्शी लगानीले झापा क्षेत्रको शिक्षण वातावरणमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।






