नेपालको वन व्यवस्थापन डिजिटल प्रविधिमा: रुखको जिपिएस ट्र्याकिङ र एपमार्फत अभिलेखीकरण सुरु
शिक्षाखबर डेस्क
१३ श्रावण २०८३, बुधबार
no immg

काठमाडौँ । नेपालको वन व्यवस्थापन क्षेत्र क्रमशः आधुनिक डिजिटल प्रविधिमा रूपान्तरण हुन थालेको छ। जिपिएस (GPS), जिआइएस (GIS), मोबाइल एप, रेन्ज फाउन्डर र विशेष सफ्टवेयरको प्रयोगमार्फत प्रत्येक रुखको डिजिटल अभिलेख राख्ने प्रणाली विस्तार भएसँगै वन व्यवस्थापन थप वैज्ञानिक, पारदर्शी र प्रभावकारी बन्दै गएको छ। वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत १५ सेन्टिमिटर वा सोभन्दा बढी व्यास भएका सबै रुखहरूको स्थान जिपिएसबाट निर्धारण गरी प्रजाति, उचाइ, मोटाइ र स्वास्थ्य अवस्था डिजिटल प्रणालीमा सुरक्षित राख्ने गरिएको छ। कटानका लागि छनोट भएका रुखदेखि बिउ उत्पादनका लागि राखिएका माउ रुखसम्मको विवरण कम्प्युटर प्रणालीमा प्रविष्ट गरी प्रत्येक १० वर्षमा पुनः मापन र अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ।

लुम्बिनी प्रदेश वन निर्देशनालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेलका अनुसार डिजिटल अभिलेखका कारण कुन रुख काटियो, कुन ढल्यो वा कुन बाँकी छ भन्ने विवरण तत्काल प्रणालीबाट हेर्न र अनुगमन गर्न सहज भएको छ। डिभिजन वन कार्यालय कपिलवस्तुका सूचना अधिकारी यादव सापकोटाका अनुसार वन प्राविधिकहरूले ‘एसएफएमएसएस’ (SFMSS) एपमार्फत रुखको कटान, आयतन र उत्पादन मूल्याङ्कन जस्ता काम डिजिटल रूपमा गर्दै आएका छन्। वन प्राविधिकले रेन्ज फाउन्डर, जिपिएस र क्यालिपरमार्फत सङ्कलन गरेको तथ्याङ्क जिआइएसबाट प्रशोधन गरी डिजिटल नक्सा तयार गरिने र सोही आधारमा व्यवस्थापन योजना तय गरिने वरिष्ठ वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो।

नेपालमा पहिलो पटक २०६८ मा कपिलवस्तुको तिलौराकोट साझेदारी वनबाट सुरु भएको यो प्रणाली हाल कपिलवस्तुका १०१ सामुदायिक र पाँच साझेदारी वनमा लागु भइसकेको छ। वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष रेणु सेनका अनुसार लुम्बिनी प्रदेशका ५५९ सामुदायिक वन, आठ साझेदारी वन र चार चक्ला वन गरी एक लाख ६१ हजार २५५ हेक्टर क्षेत्रफलमा यो प्रणाली कार्यान्वयनमा आइसकेको छ। सुदूरपश्चिमबाहेकका अन्य प्रदेशहरूमा पनि आवश्यक नियमावली बनाएर प्रणाली विस्तार भइरहेको छ। वनविज्ञहरूका अनुसार यस प्रविधिले अनियमित कटान नियन्त्रण, वास्तविक मौज्दात पहिचान र दिगो वन व्यवस्थापनमा कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर