काठमाडौँ । सुनसरी, सिराहा लगायत पूर्वी तराईका जिल्लाहरूमा हालै घटेका दुःखद हिंसात्मक घटनाहरूप्रति विभिन्न १० विद्यार्थी सङ्गठनहरू आबद्ध ‘संयुक्त विद्यार्थी सङ्गठन’ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्गठनले संयुक्त प्रेस वक्तव्य जारी गर्दै घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र प्रभावकारी उपचारको माग गरेको छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा गम्भीर आघात पुगेको भन्दै विद्यार्थी नेताहरूले नेपाल सदियौँदेखि कायम बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक एकताको गौरवमय इतिहास जोगाउन सबै नेपाली संयमित हुनुपर्नेमा जोड दिएका छन्।
सरकार र स्थानीय प्रशासनको प्रारम्भिक लापरबाहीका कारण स्थिति थप जटिल र संवेदनशील बनेको ठहर गर्दै सङ्गठनले सुरक्षा व्यवस्थापन, सेना परिचालन तथा बल प्रयोगका गतिविधिहरूले झनै तनाव बढाएकोमा चिन्ता व्यक्त गरेको छ। प्रधानमन्त्री र गृहमन्त्रीको गैरजिम्मेवार कार्यशैलीका कारण देशले ठुलो मूल्य चुकाइरहेको निष्कर्ष निकाल्दै संयुक्त विद्यार्थी सङ्गठनले देश गम्भीर सङ्कटमा परेका बेला प्रभावकारी नेतृत्व दिन असफल भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ। साथै, प्रभावित क्षेत्रमा तत्काल चुस्त सुरक्षा कायम गरी शान्ति पुनःस्थापना गर्न र सामाजिक सद्भाव बिगार्ने प्रयासहरूविरुद्ध सबै सरोकारवालाहरूलाई संयम अपनाउन अपिल गरिएको छ।
यसैबिच, पूर्वी तराईमा घटेका घटनाको विरोध तथा राष्ट्रिय एकता र शान्तिको पक्षमा ऐक्यबद्धता जनाउन संयुक्त विद्यार्थी सङ्गठनको आयोजनामा साउन १५ गते शुक्रबार दिउँसो ३:०० बजे काठमाडौँको माइतीघर मण्डलमा ‘सद्भाव र्याली’ आयोजना गरिने भएको छ। उक्त र्यालीमा विद्यार्थी, शिक्षक, अभिभावक, नागरिक समाज तथा आम सर्वसाधारणलाई सहभागी हुन विद्यार्थी सङ्गठनहरूले आह्वान गरेका छन्। उक्त वक्तव्यमा अनेरास्ववियुका अध्यक्ष दीपक धामी, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा, अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठ, अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सी, अखिल (क्रान्तिकारी) का संयोजक विरेन्द्र शाह, अखिल (छैठौँ) का अध्यक्ष सुवाश जिसी, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष ह्याल तामाङ, जनपक्षीय विद्यार्थी युनियनका अध्यक्ष सुनिता बुढाथोकी र विद्यार्थी जनमत सङ्घका संयोजक पोषण कुमार यादवसहितका विद्यार्थी नेताहरूले हस्ताक्षर गरेका छन्।






