पाल्पाको निस्दीमा पशुपालनबाट आर्थिक क्रान्ति: एकै वर्षमा साढे ७ करोडको खसीबोका र डेढ करोडको बङ्गुर बिक्री
शिक्षाखबर डेस्क
१५ श्रावण २०८३, शुक्रबार
no immg

निस्दी (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिकामा व्यावसायिक पशुपालनतर्फ कृषकहरूको आकर्षण बढेसँगै गाउँपालिकाको ग्रामीण अर्थतन्त्रमा ठुलो टेवा पुगेको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै निस्दीका कृषकहरूले विभिन्न सहकारीमार्फत सात करोड ५२ लाख १० हजार रुपियाँ बराबरको खसीबोका बिक्री गरेका छन्। गाउँपालिकाका पशु सेवा शाखा प्रमुख ओमबहादुर मश्राङ्गीका अनुसार गत वर्ष पालिकाबाट कुल पाँच हजार १४ वटा खसीबोका रामपुर, कावासोती, पोखरा, बुटवल, र नारायणगढ लगायतका सहरहरूमा निकासी भएका छन्। बजारमा खसीबोकाको माग अत्यधिक रहेकाले कृषकहरूलाई बिक्रीमा कुनै समस्या नरहेको र यहाँका पाँचवटा सहकारीले खरिद-बिक्रीको व्यवस्थापन गरिरहेका छन्, जसमा गल्धा सामाजिक उद्यमी महिला सहकारीले सबैभन्दा बढी दुई करोड ५१ लाख रुपियाँभन्दा बढीको खसीबोका बिक्री गरेको छ।

खसीबोकासँगै निस्दीबाट गत वर्ष बङ्गुरपालनमा पनि राम्रो आम्दानी भएको छ। शाखा प्रमुख मश्राङ्गीका अनुसार ३१ हजार ६५९ बङ्गुरको मासु बिक्रीबाट एक करोड २६ लाख ६७ हजार सात सय रुपियाँ र ५४५ वटा बङ्गुरको पाठापाठी बिक्रीबाट ३८ लाख १५ हजार रुपियाँ आम्दानी भएको छ। गाउँपालिकामा हाल ६५ भन्दा बढी व्यावसायिक पशुपालन फार्महरू सञ्चालनमा छन्। पशुपालनलाई प्रवर्धन गर्न गाउँपालिकाले वडाहरूमा पशुप्राविधिक परिचालन, खोर तथा भकारो सुधार, निःशुल्क औषधी वितरण, र उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत वर्ष कृषकहरूलाई बिक्रीका आधारमा प्रतिकेजी १२ रुपियाँ अनुदान उपलब्ध गराइएको थियो।

गाउँपालिकाका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले यस वर्ष गाउँपालिकाको नियमित कार्यक्रमका साथै सङ्घीय सरकारबाट प्राप्त एक करोड ८० लाख विशेष अनुदानमार्फत ‘महिला कृषि तथा पशुपालन आयआर्जन कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिनुभयो। यसले ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण र व्यावसायिक पशुपालनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर