महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिएको स्वयंसेवा तथा इन्टर्नसिप कार्यक्रममा सहभागी विद्यार्थीहरूले सम्झौता गरिएभन्दा निकै कम निर्वाहभत्ता पाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको बजेटमा गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित तीन महिने इन्टर्नसिप कार्यक्रममा विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसका आठौँ सेमेस्टरमा अध्ययनरत ८३ जना विद्यार्थीहरू सहभागी थिए। प्रतिमहिना १० हजारका दरले ९० दिनको कुल ३० हजार रुपियाँ भुक्तानी हुनुपर्ने सम्झौता र आचारसंहिता रहे पनि विश्वविद्यालयले अधिकांश विद्यार्थीको खातामा अनपेक्षित रूपमा कम रकम पठाएको पाइएको छ।
मानविकी सङ्कायका विद्यार्थी दीपक अवस्थीले भीमदत्त नगरपालिका-७ मा तीन महिना पूरा काम गर्दासमेत २३ हजार र वैशाख १५ देखि साउन १४ सम्म खटिएका तेजेन्द्र लुहारले १८ हजार ६८४ रुपियाँ मात्र पाएको गुनासो गरेका छन्। व्यवस्थापन सङ्कायकी दीपा भट्टको खातामा त झन् ९ हजार १८ रुपियाँ मात्र पठाइएको छ भने ७० जनाभन्दा बढी विद्यार्थीहरूले आधा मात्र भत्ता पाएको दाबी गरेका छन्। अचम्मको कुरा, विश्वविद्यालयले शिक्षाशास्त्र सङ्कायका धीरज जोशी, मनाकुमारी बुढा, हेमराज अवस्थी र सुशीला बागको खातामा भने तोकिएकोभन्दा बढी समान ३१/३१ हजार रुपियाँ पठाएर चरम विभेद र अपारदर्शिता देखाएको छ।
विश्वविद्यालयका सूचना अधिकारी नवीनकुमार बमका अनुसार विद्यार्थीको हाजिरीका आधारमा भुक्तानीका लागि मन्त्रालयमा सिफारिस गरिएको र असार १५ पछि काममा नखटिन पूर्वसूचना दिइएको दाबी गरिएको छ। उता सामाजिक विकास मन्त्रालयका प्रवक्ता लोकेन्द्रप्रसाद भट्टले कार्यक्रमका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा विश्वविद्यालयले पठाएको हाजिरीका आधारमा ८३ जनाका लागि २१ लाख ८२ हजार १७६ रुपियाँ निकासा गरिएको जानकारी दिनुभयो। कार्यस्थलमा खटिएर तोकिएको दायित्व पूरा गर्दा पनि मनपरी ढङ्गले निर्वाहभत्ता कटौती गरिएपछि सिकाइ र दैनिकी खर्च टार्ने आशामा रहेका विद्यार्थीहरू ठगिएको महसुस गरिरहेका छन्।






