काठमाडौँ । सुनसरीसहित तराई-मधेसका विभिन्न जिल्लाहरूमा पछिल्ला दिनहरूमा फैलिएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाहरूको अन्त्य गर्दै देशमा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्ने उद्देश्यले विभिन्न राजनीतिक दलका १० विद्यार्थी सङ्गठनहरूले शुक्रबार काठमाडौँको माइतीघर मण्डलमा बृहत् ‘सद्भाव र्याली’ आयोजना गरेका छन्। संयुक्त विद्यार्थी सङ्गठनको आह्वानमा आयोजित र्यालीमा सहभागी विद्यार्थी, युवा नेता तथा सर्वसाधारणहरूले “हातेमालो गरौँ, देश बनाऔँ”, “हिमाल, पहाड, तराई, कोही छैन पराई”, र “हिन्दु-मुस्लिम भाइभाइ” जस्ता सन्देशमूलक प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
माइतीघरबाट सुरु भई बबरमहलसम्म पुगेको प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले कुनै पनि प्रकारको अतिवादी प्रवृत्ति, घृणा र साम्प्रदायिक द्वेषलाई अस्वीकार गर्दै कानुनी शासन र भ्रातृत्वको पक्षमा उभिन आम नेपाली नागरिकहरूलाई अपिल गरेका छन्। र्यालीमा बोल्दै विद्यार्थी प्रतिनिधिहरूले पूर्वी नेपालमा विकसित घटनाक्रमप्रति सरकार र गृह प्रशासन गम्भीर बन्न नसकेको र शान्ति सुरक्षा कायम गर्न चुगेको आरोप लगाउँदै सरकारलाई तत्काल वार्ता र संवादमार्फत स्थिति नियन्त्रणमा लिन आग्रह गरेका छन्। बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपालमा सदियौँदेखि कायम रहँदै आएको धार्मिक सहिष्णुता र सामाजिक सहअस्तित्वलाई जोगाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एक ढिक्का हुन सङ्गठनले जोडदार आह्वान गरेको छ।






