भक्तपुर अस्पतालमा तोडफोड र डाक्टरमाथि कुटपिट: चिकित्सक सङ्घद्वारा कडा कारबाहीको माग, ‘जेल विदाउट बेल’ कार्यान्वयन गर्न चेतावनी
शिक्षाखबर डेस्क
१६ श्रावण २०८३, शनिबार
no immg

काठमाडौँ । भक्तपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत नवजात शिशुको मृत्युलाई लिएर अस्पताल परिसरमा तोडफोड गरिनुका साथै ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बर्बर कुटपिट गरिएको घटनाप्रति नेपाल चिकित्सक सङ्घ (एनएमए) ले तीव्र आक्रोश र गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले शनिबार एक कडा प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालजस्तो अति संवेदनशील क्षेत्रमा भएको यस्तो अमर्यादित, आपराधिक तथा निन्दनीय गतिविधिको कडा शब्दमा भर्त्सना गरेको छ। सङ्घले बिरामीका नाममा गुण्डागर्दी गर्ने र चिकित्सकमाथि हातहालेर अस्पताल तोडफोड गर्ने दोषीहरूलाई तत्काल नियन्त्रणमा लिई कडा कानुनी कारबाही गर्न सरकार र गृह प्रशासनसँग जोडदार माग गरेको छ।

सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ मा भएको ‘जेल विदाउट बेल’ (जमानतबिनाको जेल चलान) को कानुनी व्यवस्था बमोजिम दोषीहरूलाई बिनासम्झौता कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिइएको छ। पछिल्लो समय देशभरका स्वास्थ्य संस्थाहरूमा शृङ्खलाबद्ध रूपमा भइरहेका आक्रमण, तोडफोड र डाक्टरहरूमाथिको भौतिक आक्रमणले सम्पूर्ण स्वास्थ्यकर्मीहरू त्रसित बनेको र यसले समग्र स्वास्थ्य सेवा प्रवाहमा गम्भीर प्रतिकूल असर पारेको सङ्घको ठहर छ। स्वास्थ्यकर्मीलाई निर्भय वातावरणमा सेवा दिने वातावरण नबनाइए र अपराधमा संलग्नलाई उन्मुक्ति दिइए देशभरका चिकित्सकहरू कडा आन्दोलनमा उत्रिन बाध्य हुने सङ्घले चेतावनी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै