महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तह होटल व्यवस्थापन (बीएचएम) विषयको प्रवेश परीक्षा दिएका एक विद्यार्थीको विश्वविद्यालय भवनको दोस्रो तलाबाट हामफालेर उपचारका क्रममा मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका-४ बगुनका २३ वर्षीय उत्तमसिंह कार्कीले शनिबार बिहान प्रवेश परीक्षा दिएर कक्षाकोठाबाट बाहिर निस्किएलगत्तै भवनको दोस्रो तलाको रेलिङबाट हामफालेका हुन्। घटनामा परी गम्भीर घाइते हुनुभएका कार्कीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार बिहान ८:१५ बजेदेखि सुरु भएको प्रवेश परीक्षा सकेर ९:१५ बजे कक्षाकोठाबाट बाहिर निस्किएका कार्कीले एक्कासि दोस्रो तलाको रेलिङमा चढेर हामफालेका थिए। घटनालगत्तै विश्वविद्यालय प्रशासन र प्रहरीको सहयोगमा एम्बुलेन्समार्फत उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले प्राथमिक उपचारपश्चात् थप उपचारका लागि माया मेट्रो अस्पताल धनगढी रेफर गरिए पनि अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। स्थानीय व्यवसायी पदमसिंह कार्कीका कान्छा छोरा रहेका मृतक उत्तमसिंहले वैजनाथ माध्यमिक विद्यालयबाट प्लस टु उत्तीर्ण गर्नुभएको थियो। प्रवेश परीक्षा लगत्तै घटेको यस अप्रत्याशित घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






