काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालहरूमा विपन्न, असहाय र लक्षित वर्गका लागि तोकिएको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गराउन देशभरका सेवाप्रदायक अस्पताल र तिनका जिम्मेवार सम्पर्क व्यक्ति (फोकल पर्सन) हरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले सोमबार आधिकारिक सूची सार्वजनिक गर्दै निःशुल्क शय्या तथा उपचार सेवामा सर्वसाधारण बिरामीको सहज पहुँच सुनिश्चित गर्न र कुनै पनि किसिमको गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका फोकल पर्सनको नाम तथा सम्पर्क नम्बर तोकिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको यस विवरणमा देशभरका सङ्घीय, प्रादेशिक, सामुदायिक, शिक्षण (टिचिङ) तथा निजी अस्पतालहरूलाई समेटिएको छ, जसबाट सेवाग्राहीले उपचार सम्बन्धी कुनै पनि समस्या आएमा सिधै सम्बन्धित अधिकारीसँग सम्पर्क गर्न सक्नेछन्।
स्वास्थ्य अधिकार र कानुनी कार्यविधिले सुनिश्चित गरेको १० प्रतिशत निःशुल्क उपचार सेवा कतिपय अस्पतालले नदिएको गुनासो बढिरहेका बेला मन्त्रालयले अनुगमन, निगरानी र समन्वयलाई थप कडाइ गरेको हो। यसअघि नै मन्त्रालयले अस्पतालहरूमा उपलब्ध निःशुल्क शय्याको पारदर्शिताका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइसकेको छ भने सबै अस्पतालहरूलाई आरक्षित शय्याको विवरण दैनिक रूपमा अद्यावधिक गर्न अनिवार्य गरिसकेको छ। मन्त्रालयले लक्षित वर्गका बिरामी तथा तिनका आफन्तहरूलाई आवश्यक पर्दा सार्वजनिक गरिएको सम्पर्क विवरणको प्रयोग गरी निःशुल्क उपचारसम्बन्धी जानकारी लिन, कुनै बाधा-अड्चन आएमा गुनासो दर्ज गराउन र सेवा प्राप्तिमा सोझै समन्वय गर्न अपिल गरेको छ।






