काठमाडौँ । नर्सहरूको न्यूनतम पारिश्रमिक तोक्नुपर्ने, श्रम शोषणको अन्त्य हुनुपर्ने र वृत्ति विकासलगायत विभिन्न १५ सुत्रीय माग राखी आमरण अनसनमा बस्नुभएकी नर्सिङ अभियन्ता ज्योति रानाभाटको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति नेपाल चिकित्सक सङ्घ (एनएमए) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साउन १४ गतेदेखि अनसन सुरु गर्नुभएकी रानाभाटको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको सन्दर्भमा सङ्घले आइतबार (साउन १८ गते) विज्ञप्ति जारी गर्दै उहाँका जायज मागहरूप्रति पूर्ण समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नर्सहरूको तलब, भत्ता, सेवा-सुविधा, तथा वृत्ति विकास सम्बन्धी समस्या समाधानका लागि विगतमा नेपाल सरकारसँग पटक-पटक सम्झौता भए पनि सोको कार्यान्वयन नहुँदा देशभरका नर्सहरू चरम अन्यायमा परेको ठहर गरिएको छ। सङ्घले आमरण अनसनरत रानाभाटको जीवन रक्षाका लागि यथाशीघ्र ठोस कदम चाल्न र उहाँले उठाएका जायज मागहरूको उचित सम्बोधन गरी मुलुकमा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।






