एलपी ग्यासको अभाव नभएको आयल निगमको दाबी: समस्या परे ०१-५९७१९०२ मा सम्पर्क गर्न अपिल, यस्ता छन् प्रदेशस्तरीय सम्पर्क नम्बरहरू
शिक्षाखबर डेस्क
२० श्रावण २०८३, बुधबार
no immg

काठमाडौँ । बजारमा एलपी ग्यासको अभाव भएको भन्दै विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल आयल निगम लिमिटेडले ग्यासको आपूर्ति र बिक्री वितरण पूर्ण रूपमा सहज र नियमित रहेको स्पष्ट पारेको छ। निगमले साउन १९ गते सोमबार एक विज्ञप्ति जारी गर्दै दैनिक माग अनुसार नै बजारमा ग्यास आपूर्ति भइरहेको र चालू महिनामा आयात परिमाणसमेत थप वृद्धि गरिएकाले ग्यासको कुनै अभाव नरहेको जनाएको छ। निगमका अनुसार नेपालको मासिक औसत खपत ४७ हजार मेट्रिक टन रहेकोमा साउन १ देखि १८ गतेसम्म मात्रै ३१,८१६ मेट्रिक टन ग्यास आयात भइसकेको छ। निगमले आपूर्ति शृङ्खलामा कुनै समस्या नरहेकाले आम उपभोक्ताहरूलाई नआतिएर आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर भण्डारण नगर्न अपिल गरेको छ।

उपभोक्ताको सहजताका लागि निगमले १४.२ केजीको घरायसी ग्यास सिलिन्डर बिक्री वितरणमा घरायसी प्रयोजनका ग्राहकहरूलाई प्राथमिकता दिन ग्यास उद्योगी तथा विक्रेताहरूलाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा देखिएको उच्च मागलाई सम्बोधन गर्न साउन १६ गतेदेखि निगमको टेकुस्थित कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डरहरू बिहान ११:०० देखि बेलुका ५:०० बजेसम्म सोझै बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ। यसैगरी ग्यास विक्रेताहरूलाई खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर बिक्री गर्न भनिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घ रोगीहरूलाई विशेष प्राथमिकताका साथ ग्यास उपलब्ध गराउन आग्रह गरिएको छ।

काठमाडौँ उपत्यका बाहिर एलपी ग्यास सम्बन्धी कुनै पनि समस्या वा गुनासो आएमा तत्काल समाधान गर्न निगमले आफ्ना प्रादेशिक तथा शाखा कार्यालयका सम्पर्क अधिकारीहरूको नामावली र नम्बर सार्वजनिक गरेको छ। जसमा कोशी प्रदेशका लागि भिमबहादुर विश्वकर्मा (९८०४९५१७९२), गण्डकीका लागि गणेशबहादुर मगर (९८५६०३५४४४), लुम्बिनीका लागि अमित लोहनी (९८४७४५५७८४), कर्णालीका लागि रामकुमार केएम (९८५८०४६४००), र सुदूरपश्चिमका लागि कुम्भराज जोशी (९८४८७५५८०३) लाई तोकिएको छ। यस्तै इन्धन डिपो नेपालगञ्जका लागि खगेन्द्रप्रसाद अधिकारी (९८६८९०४५२७), झापा शाखाका लागि पुण्यप्रसाद पौडेल (९८४१७६३९७३), महेन्द्रनगर धनुषा डिपोका लागि रामराज सिंह (९८०४५८००९), र वीरगञ्ज शाखाका लागि काशीराम ओली (९७६७७२९१५१) लाई सम्पर्क अधिकारी तोकिएको छ। ग्यास नपाएमा निगमको हटलाइन नम्बर ०१-५९७१९०२ मा कार्यालय समयभित्र सम्पर्क गर्न सकिने निगमले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै