तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण गरेको छ । आयोजनाको सहयोगमा भीमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरिएको हो ।
आयोजनाका प्रबन्ध सञ्चालक छविलाल गैह्रेका अनुसार नेपाल सरकारको विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, नमुना डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार भवन निर्माण गरिएको हो ।
भवनलाई विपद् प्रतिरोधी, सुरक्षित र गुणस्तरीय बनाइएको छ । “आयोजना प्रभावित क्षेत्रका नागरिकलाई विकासको प्रत्यक्ष अनुभूति गराउने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिएका छौँ,“ प्रबन्ध सञ्चालक गैह्रेले भन्नुभयो, “विद्यालय भवन निर्माणसँगै विद्यार्थीलाई सुरक्षित र व्यवस्थित सिकाइ वातावरण उपलब्ध भएको छ ।”
भवन निर्माणका लागि एम-एस निवास इन्जिनियरिङ कन्सल्टेन्सीसँग भ्याटसहित ९५ लाख ७२ हजार ५८ रुपियाँ ६८ पैसामा ठेक्का सम्झौता भएकोमा भ्याटसहित कुल ९५ लाख ६५ हजार ६४४ रुपियाँ ६१ पैसाको लागतमा काम सम्पन्न भएको छ । उक्त भवन निर्माणको काम सन् २०२३ अगस्ट १६ (२०८० भदौ ३०) मा सम्झौता भई हाल सम्पन्न भएको हो।
आयोजनाले व्यास नगरपालिका–५ बेनीपाटनस्थित पराशर माध्यमिक विद्यालयमा समेत आठ कोठाको दुई तले भवन निर्माण गरिदिएको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण गरिएको उक्त भवनले विद्यालयको शैक्षिक पूर्वाधार विस्तारमा सहयोग पुगेको आयोजनाले जनाएको छ ।
आयोजना प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माणसँगै नाला तथा तटबन्धन, आमा समूहका भवन, सडक बत्ती जडान, नदी नियन्त्रण तथा सीपमूलक तालिमलगायतका सामुदायिक विकासका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकता दिइएको प्रबन्ध सञ्चालक गैह्रेले बताउनुभयो ।
उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको समग्र निर्माण प्रगति हालसम्म ७८ प्रतिशत पुगेको छ । आयोजनाको मुख्य सुरुङ, विद्युतगृह, बाँध तथा प्रसारण लाइनलगायतका मुख्य संरचनाको काम विभिन्न चरणमा तीव्र रूपमा अघि बढिरहेको छ ।






