बागमती प्रदेश सरकारद्वारा चार जिल्लामा २५५ शैक्षिक र सामुदायिक पूर्वाधार निर्माण: २५८ पूर्वाधार योजनासहित सीपमूलक कार्यक्रम सम्पन्न
शिक्षाखबर डेस्क
२९ श्रावण २०८३, शुक्रबार
no immg

काठमाडौँ । बागमती प्रदेश सरकारले गत एक वर्षको अवधिमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा गरी २५५ वटा विद्यालय, क्याम्पस तथा सामुदायिक भवनको भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न गरेको छ। सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोकमार्फत सञ्चालित यी योजनाहरूमा विद्यालय भवन, छात्रावास, घेराबार, शौचालय, खेलमैदान र स्वच्छ खानेपानी जस्ता आधारभूत पूर्वाधार निर्माण समावेश छन्। कार्यालयका इन्जिनियर कुसुम भट्टराईका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा २९९ वटा योजना सम्पन्न गर्ने लक्ष्य राखिएकोमा २५५ वटा योजनाहरू पूर्ण रूपमा सम्पन्न भई समग्रमा करिब ७६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ।

सम्पन्न योजनाहरूअन्तर्गत ६६ वटा विद्यालयमा घेराबार, ६ वटामा शौचालय, ३३ वटा विद्यालय भवन तथा छात्रावास र ६५ वटा विद्यालय तथा क्याम्पसमा भौतिक सुधारका कामहरू गरिएका छन्। यसैगरी विपद्बाट क्षति पुगेका ३५ वटा विद्यालयको पुनर्निर्माण, ८३ वटा सङ्घसंस्थाको पूर्वाधार सबलीकरण, १६ वटा विद्यालयमा आइसिटी ल्याब तथा स्मार्ट बोर्ड व्यवस्थापन र एक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरिएको छ। शैक्षिक गुणस्तर र व्यावहारिक शिक्षा प्रवर्धनका लागि बनेपाको चक्रज्योति माविमा भीमबहादुर शैक्षिक गुणस्तर सुधार कार्यक्रम र पाँच वटा विद्यालयमा ‘सिक्दै-कमाउँदै, कमाउँदै-सिक्दै’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।

शैक्षिक पूर्वाधारका अतिरिक्त सामाजिक विकास कार्यालयले जनशक्ति विकास र खेलकुद पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। गत आवमा प्लम्बिङ, इलेक्ट्रिसियन, सिलाई-कटाई, बारिस्टा, कुकसहित १८ वटा समूहमार्फत ३२७ जनालाई अल्पकालीन सीपमूलक तालिम दिइएको छ, जसमध्ये २३६ जनाको सिटिइभिटीबाट सीप परीक्षणसमेत गराइएको छ। खेलकुद पूर्वाधारतर्फ चौतारा रङ्गशालाको निर्माण कार्य ९३ प्रतिशत र मन्थली कभर्डहलको ९० प्रतिशत प्रगति भएको छ भने दोलखाको बैतेश्वरमा मिनी रङ्गशाला र गौरीशङ्कर क्याम्पसमा फुटसल निर्माण सम्पन्न भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर