स्याङ्जा । स्मार्ट सिटीको अवधारणामा अघि बढिरहेको स्याङ्जाको वालिङ नगरपालिकाले आफ्नो ‘गुलाबी सहर’ को पहिचानलाई अब सामुदायिक विद्यालयका विद्यार्थीहरूसम्म विस्तार गरेको छ। नगरक्षेत्रका करिब ८० प्रतिशत घरहरूमा गुलाबी रङ पोतिसकिएको वालिङमा नगरपालिकाले यहाँका ५९ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत करिब तीन हजार ९२ जना विद्यार्थीका लागि गुलाबी रङको पोसाक अनिवार्य रूपमा लागू गरेको हो। घरका भित्तादेखि विद्यालयको पोसाकसम्म विस्तार गरिएको यस गुलाबी अभियानलाई नगरपालिकाले स्थानीय पहिचानका साथै नागरिकबिच समानता, एकता, सद्भाव र आत्मीयताको भावना अभिवृद्धि गर्ने माध्यमका रूपमा जोडेको छ।
नगरपालिकाले पोसाक व्यवस्थापनका लागि प्रतिविद्यार्थी एक हजार रुपियाँका दरले रकम सम्बन्धित विद्यालयको खातामा उपलब्ध गराइसकेपछि विद्यार्थीहरूले गुलाबी पोसाक लगाउन थालेका छन्। रणवीर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीका अनुसार सबै विद्यार्थीले एउटै रङको पोसाक लगाउँदा समानताको अनुभूति हुने भएकाले यस अभियानलाई शिक्षक र विद्यार्थी दुवैले सकारात्मक रूपमा लिएका छन्। नगरप्रमुख कृष्ण खाँणले यो अभियान केवल भौतिक संरचना र कपडा रङ्ग्याउने काम मात्र नभई नगरवासीमा साझा अपनत्व विकास गर्ने प्रयास भएको बताउनुभयो। घरको नक्सा पास गर्दा नै गुलाबी रङलाई अनिवार्य गरिएकाले वालिङमा यसको प्रयोग ह्वात्तै बढेको छ। विद्यालयका विद्यार्थीका साथै नगरका अटोचालकहरूका लागि समेत गुलाबी पोसाकको माग बढेपछि स्थानीय सिलाइकटाइ (टेलर) व्यवसायीहरूलाई पोसाक तयार पार्न भ्याइनभ्याइ हुनुका साथै स्थानीय रोजगारमा समेत वृद्धि भएको छ।






