बाँके । पश्चिम नेपालका क्यान्सर बिरामीहरूलाई आफ्नै क्षेत्रमा गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा (बाँके) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर (चितवन) बिच संस्थागत सहकार्य तथा विशेषज्ञ मेडिकल अंकोलोजी सेवासम्बन्धी सम्झौता भएको छ। साउन २९ गतेदेखि लागू भई एक वर्षसम्म कायम रहने सो सम्झौतापत्रमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराई र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रत्येक महिनाको दुई दिन खजुरास्थित अस्पतालमा आफ्ना दक्ष तथा अनुभवी मेडिकल अंकोलोजिस्ट पठाउनेछ। खजुरा पुग्ने विशेषज्ञ चिकित्सकहरूले ओपीडी परामर्श, उपचार योजना निर्माण, किमोथेरापीको सुपरिवेक्षण, वार्ड राउन्ड, जटिल बिरामीको समीक्षा तथा आवश्यकता अनुसार हेमाटो-अंकोलोजीलगायतका विशेषज्ञ सेवा प्रदान गर्ने खजुरा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईले जानकारी दिनुभयो। उपचार प्रक्रियामा बिरामीको सुरक्षा, मर्यादा, गोपनीयता र सूचित सहमतिलाई सर्वोच्च प्राथमिकता दिइने र जटिल अवस्थाका बिरामीलाई आवश्यकता अनुसार उपयुक्त विशेषज्ञ केन्द्रमा रेफर गर्ने व्यवस्थासमेत गरिएको छ। सम्झौताको साक्षीमा खजुराका पेडियाट्रिक अंकोलोजी विभागीय प्रमुख डा. सुवास मेहता र भरतपुरका मेडिकल अंकोलोजी विभागीय प्रमुख डा. गुरुशरण साह रहनुभएको छ। दुई ठुला विशिष्टीकृत अस्पतालहरूबिचको यस सहकार्यले पश्चिम नेपालका सयौँ क्यान्सर बिरामीहरूलाई काठमाडौँ वा भरतपुर धाइनुपर्ने बाध्यताको अन्त्य गरी ठुलो राहत पुग्ने नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो।






