स्वास्थ्य बीमा बोर्डद्वारा अनलाइन आवद्धता तथा नवीकरण (HIB e-Portal) प्रणालीको शुभारम्भ: अब घरैबाट नवीकरण र KYC अद्यावधिक गर्न सकिने
शिक्षाखबर डेस्क
३० श्रावण २०८३, शनिबार
no immg

काठमाडौँ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप सर्वसुलभ, पारदर्शी र पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यका साथ ‘HIB e-Portal’ मार्फत अनलाइन आवद्धता तथा नवीकरण प्रणालीको औपचारिक शुभारम्भ गरेको छ। साउन २९ गतेदेखि कार्यान्वयनमा आएको यस विद्युतीय प्रणालीमार्फत अब सर्वसाधारणले घरैबाट नयाँ आवद्धता, बीमालेख नवीकरण र केवाइसी (KYC) अद्यावधिकसम्बन्धी कार्यहरू गर्न सक्नेछन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा माननीय मन्त्री निशा मेहताको समुपस्थितिमा साउन २२ गते अन्तिम तयारी तथा कार्यान्वयन सम्बन्धी आवश्यक कार्य सम्पन्न गरी सोमबार बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट एवं प्रवक्ता डा. पवन कुमार साहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत सो सेवाको औपचारिक सुरुआत गरिएको हो।

बोर्डबाट स्वीकृत ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आवद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम सञ्चालनमा ल्याइएको यो प्रणालीलाई राष्ट्रिय परिचयपत्र (NID) सँग समेत अन्तरआवद्ध गरिएको छ। राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले भने म्यानुअल रूपमा डिजिटल विवरण पेस गर्न सक्ने व्यवस्था मिलाइएको छ। बीमित वा दर्ता सहयोगीले सोझै eSewa, Khalti र Connect IPS मार्फत बीमा प्रिमियम रकम भुक्तानी गर्न सक्नेछन्। विगतमा बीमा गरिसकेका परिवारले परिवारमूलिको बीमा नम्बर प्रयोग गरी प्रणालीमा जोडिएर KYC अद्यावधिक तथा नवीकरण गर्न सक्नेछन् भने कार्यालय वा सङ्गठित क्षेत्रका लागि ‘Bulk Enrollment’ र ‘Bulk Renewal’ को सुविधासमेत राखिएको छ।

जिल्ला तथा प्रदेश स्तरबाट विवरण प्रमाणीकरण र स्वीकृति भए पश्चात् प्रणालीबाटै ‘डिजिटल स्वास्थ्य बीमा कार्ड’ जारी हुनेछ। यस विद्युतीय प्रणालीको सुरुआतसँगै बीमा आवद्धता र नवीकरण प्रक्रियामा बिचौलियाको अन्त्य भई सेवाग्राहीको समय र खर्चको बचत हुनेछ। साथै, पुराना विवरणहरू अद्यावधिक भई तथ्याङ्कको शुद्धता कायम हुने र नेपाल सरकारले अघि सारेको डिजिटल सुशासनको अवधारणालाई साकार पार्न यस पोर्टलले ठुलो योगदान पुर्‍याउने अपेक्षा स्वास्थ्य बीमा बोर्डले लिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर