रुकुमपश्चिम जिल्ला अस्पतालमा चिकित्सक अभाव
शिक्षाखबर डेस्क
३१ श्रावण २०८३, आईतवार
no immg

रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१ सल्लेस्थित १५ शय्याको स्वीकृत जिल्ला अस्पतालमा मौसमी फ्लुका बिरामीको चाप ह्वात्तै बढे पनि आवश्यक चिकित्सकको अभावमा बिरामीहरू मारमा परेका छन्। वर्षायाम सुरु भएसँगै रुघाखोकी, ज्वरो र पखालालगायतका बिरामी दैनिक १५० भन्दा बढी आउने गरे पनि अस्पताल हाल एक जना मात्र मेडिकल अधिकृतको भरमा सञ्चालन भइरहेको छ। कर्णाली प्रदेश सरकार मातहत रहेको यस अस्पतालमा विगतमा सङ्घ तथा प्रदेशबाट खटिएका छात्रवृत्ति करारका चिकित्सकहरूको दुई महिनाअघि निर्धारित सेवा अवधि सकिएपछि जनशक्तिको चरम अभाव सिर्जना भएको हो।

अस्पतालमा चार जना विशेषज्ञ र चार जना मेडिकल अधिकृत गरी कुल आठ जना चिकित्सकको दरबन्दी रहेकामा हाल एक जना स्त्रीरोग विशेषज्ञ र एक जना मेडिकल अधिकृत मात्र कार्यरत हुनुहुन्छ। त्यसमा पनि अस्पतालले आन्तरिक कोषबाट हाडजोर्नी तथा नसामुकाम विशेषज्ञको व्यवस्था गरे तापनि स्त्रीरोग विशेषज्ञ डा. जीवन परियार उपचारका क्रममा जिल्लाबाहिर रहेकाले दैनिक सेवा प्रवाहको सम्पूर्ण भार एक जना मेडिकल अधिकृतमाथि परेको छ। रुकुमपश्चिमका साथै रुकुमपूर्व, सल्यान, जाजरकोट, डोल्पा र रोल्पाबाट आउने बिरामीहरू घण्टौँ लाइन बस्नुपर्ने र समयमै डाक्टर भेट्न नपाएर निराश भई निजी क्लिनिकमा महँगो उपचार गराउन बाध्य भएको गुनासो गर्दछन्।

स्वीकृत १५ शय्याको भए पनि हाल करिब ४० शय्याबाट बिरामीलाई सेवा दिइरहेको यस अस्पतालका सूचना अधिकारी कालीबहादुर ओलीका अनुसार समस्या समाधानका लागि प्रदेश सरकारसँग दरबन्दी अनुसारका चिकित्सक माग गरिएको छ। साथै, अस्पतालको आन्तरिक आम्दानीबाट व्यवस्थापन हुने गरी थप तीन जना चिकित्सकलाई करार सेवामा भर्ना गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर