काठमाडौँ । सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षक, प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता र विद्यालय कर्मचारीहरूको पारिश्रमिकमा उल्लेखनीय वृद्धि गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक र आधारभूत तहका अनुदान कोटाका शिक्षकहरूको तलब साविक श्रेणी सरह कायम गर्ने तथा ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीहरूको मासिक भत्तामा ५ हजार रुपियाँ थप गर्ने निर्णय गरेको हो। शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार माध्यमिक तह (कक्षा ९-१०) मा अनुदान कोटामा कार्यरत शिक्षकहरूको पारिश्रमिक अब माध्यमिक तृतीय श्रेणी सरह र आधारभूत तह (कक्षा ६-८) का शिक्षकहरूको पारिश्रमिक निम्न माध्यमिक तृतीय श्रेणी सरह हुनेछ।
नयाँ निर्णय कार्यान्वयनमा आएसँगै शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकहरूको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ। त्यसैगरी आधारभूत तहका अनुदान कोटाका शिक्षकहरूको मासिक पारिश्रमिक ३४ हजार ७३० रुपैयाँबाट वृद्धि भई ३८ हजार २०३ रुपैयाँ कायम भएको छ। यसै निर्णयमार्फत लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्दै आएका ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरूलाई ठुलो राहत पुगेको छ।
संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपियाँ थप गरिएपछि ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट बढेर १७ हजार रुपैयाँ पुगेको छ। यसैगरी विद्यालय सहयोगीको पारिश्रमिक १० हजारबाट १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको पारिश्रमिक १५ हजारबाट बढेर २० हजार रुपैयाँ पुगेको छ। सरकारको यस कदमले देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको मनोबल उच्च बनाउने र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






