काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटो विवरण पेस गरी शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भई माध्यमिक तहको स्थायी शिक्षक नियुक्ति लिएको आरोपमा लमजुङका शिक्षक नवराज केसी र तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आदर्श बाल माध्यमिक विद्यालय लमजुङमा कार्यरत शिक्षक केसीले आफू विस्थापित शिक्षक भएको झुटो दाबीसहित दरखास्त फाराम भरेर आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाबाट स्थायी नियुक्ति लिएको अनुसन्धानबाट खुलेपछि बुधबार आयोगले दुवै जना विरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानका क्रममा शिक्षक केसीले त्यसअघि नै प्राथमिक तहको स्थायी शिक्षकका रूपमा नियुक्ति लिइसकेको तथ्य प्रमाण भेटिएको छ। यता तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी न्यौपानेले भने केसीले पेस गरेको सोही झुटो विवरण तथा कागजातहरूलाई जाँचबुझ नगरी प्रमाणित गरिदिएका थिए। आयोगले शिक्षक केसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) र तत्कालीन निमित्त जिशिअ न्यौपानेविरुद्ध दफा १६ (१) तथा दफा २२ बमोजिम कैद र जरिवाना सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको छ।






