मुस्ताङको ग्यतङथाङमा बालविकास केन्द्र स्थापना भएपछि मजदुरका सन्तानलाई राहत: ४ किलोमिटर हिँड्नुपर्ने बाध्यता हट्यो
शिक्षाखबर डेस्क
४ भाद्र २०८३, बिहीबार
no immg

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ ग्यतङथाङमा प्रारम्भिक बालविकास केन्द्र (ECED) स्थापना भएपछि ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका परिवारका बालबालिकालाई ठुलो राहत पुगेको छ। यसअघि म्याग्दीका प्रेम विकजस्ता स्थानीय मजदुरहरूले आफ्ना ३ देखि ६ वर्षसम्मका साना बालबालिकालाई अध्ययनका लागि करिब चार किलोमिटर टाढा रहेको जनशान्ति माध्यमिक विद्यालय कागबेनीसम्म लैजानुपर्ने बाध्यता थियो। दैनिक मजदुरीसँगै टाढाको विद्यालयमा बालबालिकालाई पुर्‍याउन र ल्याउन भोग्नुपरेको सास्तीलाई सम्बोधन गर्दै गाउँपालिकाले भदौ महिनादेखि गाउँमै बालविकास केन्द्र सञ्चालनमा ल्याएपछि मजदुर परिवारहरूलाई निकै सहज भएको छ।

केन्द्रमा हाल १३ जना बालबालिका अध्ययनरत रहेको र उनीहरूलाई प्रयोगात्मक विधिबाट शिक्षण गराइँदै आएको सहजकर्ता सविता पुन मगरले जानकारी दिनुभयो। बालविकास केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने भवनसहितको भौतिक संरचना वडाध्यक्ष कर्म घ्यचो गुरूङले निःशुल्क उपलब्ध गराउनुभएको छ भने सहयोगी कार्यकर्ताको पारिश्रमिक गाउँपालिकाले व्यवस्थापन गरेको छ। म्याग्दी, बागलुङ, रुकुम, रोल्पा र डोल्पा लगायतका जिल्लाबाट आई ग्यतङथाङमा बसोबास गर्ने २५ जना मजदुरहरूले बालबालिकाको शिक्षाका लागि केन्द्रको माग गरेका थिए। वडाध्यक्ष गुरूङका अनुसार गाउँमै बालविकास केन्द्र स्थापना भएपछि सन्तानको पढाइकै कारण गाउँ छाडेर जाने मजदुरहरूलाई रोक्न सजिलो हुनुका साथै सबै बालबालिकाको प्रारम्भिक शिक्षामा नियमित पहुँच स्थापित भएको छ।

केन्द्र सञ्चालनमा आएपछि गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरूङ, प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरी, लेखा अधिकृत खगराज सुबेदी र शिक्षा शाखा प्रमुख रेखा पन्त लगायतको टोलीले स्थलगत अनुगमनसमेत गरेको छ। बालबालिकालाई अध्ययनप्रति प्रोत्साहित गर्न कार्पेट, खेलकुदका सामग्री र जाडोयाममा सहज हुने गरी थप पूर्वाधार विस्तार गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ। साथै, वडा कार्यालयले मजदुरहरूका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी लेक लाग्ने तथा अन्य जटिल स्वास्थ्य समस्या भएकाहरूलाई थप उपचारका लागि सिफारिस गर्ने व्यवस्थासमेत मिलाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर