झापा । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिने महिलाहरूको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ। अस्पतालमा विशेषज्ञ जनशक्तिको थप घट, प्रसूति सेवाको स्तरमा आएको सुधार तथा सरकारी स्वास्थ्य संस्थाप्रतिको बढ्दो जनविश्वासका कारण सेवाग्राहीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार ७०८ जनाले प्रसूति सेवा लिएका छन्, जबकि अघिल्लो आव २०८१/८२ मा ७८७ जना र आव २०८०/८१ मा ८१९ जनाले मात्र यो सेवा लिएका थिए।
गत आव २०८२/८३ को तथ्याङ्क अनुसार ७६५ जनाले सामान्य प्रसूतिमार्फत बच्चा जन्माएका छन् भने ९२२ जनाले शल्यक्रिया (सिजरियन सेक्सन) मार्फत सेवा लिएका छन्। साथै, प्रसूतिका क्रममा जटिलता देखिएका २१ जनाका लागि ‘भ्याकुम’ प्रविधिको प्रयोग गरिएको थियो। अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताका अनुसार प्रसूति सेवामा चाप बढेसँगै विशेषज्ञ जनशक्ति थप गरिएको हो। यसअघि डा. एलिजा गौतम मात्र प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत रहेकोमा गत वर्ष डा. विपा पोखरेल र चालु वर्षको असारदेखि डा. एलिजा भट्टराई थपिएपछि हाल तीन जना विशेषज्ञले नियमित सेवा दिइरहेका छन्। निजी अस्पतालको तुलनामा गुणस्तरीय र भरपर्दो सेवा सुलभ रूपमा पाइन थालेपछि झापा र आसपासका क्षेत्रका महिलाहरू प्रादेशिक अस्पतालतर्फ आकर्षित भएका हुन्।






