आलु खेतीतर्फ भोजपुरका किसानको आकर्षण: सडक पुगेपछि घरघरमै पुग्न थाले व्यापारी
शिक्षाखबर डेस्क
४ भाद्र २०८३, बिहीबार
no immg

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलुको बजार विस्तार भएसँगै स्थानीय किसानहरू व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन्। गाउँ-गाउँसम्म सडक सञ्जालको पहुँच पुगेपछि व्यापारीहरू घरघरमै पुगेर आलु खरिद गर्न थालेकाले किसानहरूलाई उत्पादन बिक्री गर्न बजार खोज्दै हिँड्नुपर्ने र ढुवानीको सास्ती व्यहोर्नुपर्ने बाध्यता हटेको छ। सडकका कारण कृषि उपजको बजारीकरण सहज बनेपछि भोजपुरका विभिन्न गाउँमा आलुको व्यावसायिक उत्पादनमा उल्लेख्य वृद्धि भएको छ।

टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान रामबहादुर विष्टका अनुसार गाउँमै आलु प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादन गरिएको स्थानीय आलुको स्वाद र गुणस्तर राम्रो भएकाले बजारमा माग उच्च रहेको छ। गाउँबाट खरिद गरिएको यो आलु सहरका बजारहरूमा पुग्दा प्रतिकिलो ६५ देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गर्दछ। अर्का स्थानीय किसान धनराज राईका अनुसार विगतमा सडक सुविधा नहुँदा भरियामार्फत आलु बजारसम्म पुर्‍याउन ठुलो ढुवानी खर्च लाग्ने र उत्पादन घरमै थन्किने चिन्ता हुन्थ्यो, तर अहिले व्यापारीहरू गाडी लिएर घरमै पुग्ने गरेका छन्।

भोजपुरमा उत्पादित प्राङ्गारिक आलु स्थानीय बजारका साथै धरान र इटहरीजस्ता ठुला सहरहरूसम्म पुग्ने गरेको छ। कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार हाल जिल्लाका विभिन्न भागमा गरी करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको छ। सडक पूर्वाधारको विकासले आलुका अतिरिक्त मकै, तरकारी तथा फलफूल जस्ता अन्य कृषि उपजको बजारीकरणमा समेत ठुलो सुधार ल्याएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर