इलाममा अलैँची टिपाइ सुरु: मनको एक लाख दुई हजारसम्ममा बिक्री, गत वर्ष १२ अर्ब ६३ करोडको निर्यात
शिक्षाखबर डेस्क
५ भाद्र २०८३, शुक्रबार
no immg

इलाम । गएको आर्थिक वर्षमा वैदेशिक मुद्रा आर्जनमा ऐतिहासिक कीर्तिमान कायम गरेको अलैँची यस वर्ष पनि इलामका तल्लो क्षेत्रहरूमा धमाधम टिप्न सुरु गरिएको छ। इलामको रोङ गाउँपालिकासहित माईजोगमाई र इलाम नगरपालिकाका तातो तथा पारिलो खोलाकिनार क्षेत्रमा किसानहरूले ‘जिर्मले’ जातको अलैँची टिप्न र बिक्री गर्न थालेका हुन्। रोङ गाउँपालिकाका गुरु किसान राम आचार्यका अनुसार यस वर्ष सिजनको सुरुआतमै प्रतिमन (४० किलो) एक लाखदेखि एक लाख दुई हजार रुपियाँसम्ममा अलैँची खरिद-बिक्री भइरहेको छ। अन्य जातका भार्लाङ, रामसाही, गोलसाही, सेरेना र चिवे जातका अलैँची भने केही समयपछि मात्र टिपिने किसानहरूले बताएका छन्।

अलैँची व्यवसायी सङ्घका अध्यक्ष दीपक नेपालका अनुसार गत वर्ष प्रतिमन अधिकतम एक लाख छ हजार रुपियाँसम्म पुगेको अलैँचीको मूल्य यस वर्ष सिजनको सुरुमा ९६ हजारदेखि एक लाख रुपियाँको वरपर रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा काँकडभिट्टा नाकाबाट मात्र ६३ लाख ८५ हजार ८७० किलो अलैँची निर्यात भई अहिलेसम्मकै उच्च अर्थात् १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपियाँ बराबरको वैदेशिक मुद्रा आर्जन भएको थियो। अलैँची विकास केन्द्रका अनुसार विशेष गरी इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर र धनकुटालगायत कोशी प्रदेशका पहाडी जिल्लाहरूमा अलैँचीको व्यावसायिक उत्पादन उच्च रहँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर