इलाम । ५० शय्याको क्षमतामा सञ्चालित पूर्वी पहाडको प्रमुख स्वास्थ्य संस्था इलाम अस्पतालमा आधिकारिक ‘ब्लड बैंक’ नहुँदा बिरामीहरूले ठुलो सास्ती व्यहोर्नुपरेको छ। इलामसहित छिमेकी जिल्लाहरू पाँचथर, ताप्लेजुङ र तेह्रथुमका नागरिकलाई वर्षौँदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालमा विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध भए तापनि रगतको अभावमा आपत्कालीन उपचार प्रभावित हुने गरेको छ। अस्पतालका प्रमुख डा. अमिताभ ठाकुरका अनुसार आकस्मिक कक्ष, प्रसूति सेवा, जटिल शल्यक्रिया तथा मिर्गौलाका बिरामीका लागि नियमित रूपमा रगत आवश्यक पर्ने भए पनि ब्लड बैंकको अभावले सेवा प्रवाहमा गम्भीर चुनौती खडा गरेको छ।
अस्पतालमा हाल इमर्जेन्सी, प्रसूति, शल्यक्रिया र डाइलासिस गराउने गरी एक सयभन्दा बढी बिरामीहरू उपचाररत रहेका छन्। डाइलासिस सेवाका इन्चार्ज आदित्य पण्डितका अनुसार विशेष गरी मिर्गौलाका बिरामीलाई तत्काल रगत दिनुपर्ने अवस्था आउँदा सम्बन्धित रक्तसमूहका व्यक्तिहरू आफैँ खोज्नुपर्ने वा झापाबाट रगत मगाउनुपर्ने बाध्यता रहेको छ। तत्काल रगत व्यवस्थापन गर्न मानिस खोज्न निकै कठिन हुने र यसले बिरामीको ज्यान नै जोखिममा पर्ने भएकाले इलाम अस्पतालमा अविलम्ब व्यवस्थित ब्लड बैंक स्थापना गर्न स्थानीय तथा सरोकारवालाहरूले माग गरेका छन्।






