धादिङको बागेश्वरी माविमा अभिभावकको एउटा फोनले बच्यो ४०० विद्यार्थीको ज्यान: बाढीले १ करोडको संरचना ध्वस्त
शिक्षाखबर डेस्क
१३ भाद्र २०८३, शनिबार
no immg

धादिङ । धादिङको गल्छी गाउँपालिकास्थित बैरेनीमा रहेको बागेश्वरी माध्यमिक विद्यालयमा बिहानी प्रार्थनाको तयारी चलिरहेका बेला एउटा आकस्मिक फोनले सम्भावित ठुलो मानवीय क्षति टारेको छ। त्रिशूली नदीमा भीषण बाढी आउँदै गरेको र सतर्क रहन एकजना अभिभावकले मोबाइलमार्फत विद्यालयका शिक्षकलाई समयमै पूर्वसूचना दिनुभएको थियो।

उक्त सूचना प्राप्त हुनासाथ विद्यालय प्रशासनले तुरुन्तै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका करिब चार सय विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई हतार–हतार विद्यालय नजिकैको डाँडातिर सुरक्षित स्थानमा सारेको थियो। प्रधानाध्यापक ज्ञानु थापाका अनुसार समयमै सूचना पाएका कारण सबैको जीवन रक्षा गर्न सम्भव भएको हो।

यद्यपि, बाढीका कारण विद्यालयको भौतिक संरचनामा भने अपूरणीय क्षति पुगेको छ। शिक्षक रामप्रसाद ज्ञवालीका अनुसार बाढी विद्यालय परिसरमा पस्दा फर्निचर, संगणक प्रयोगशाला र विज्ञान प्रयोगशाला पूर्ण रूपमा डुबानमा परी क्षतिग्रस्त भएका छन्। प्रधानाध्यापक थापाले विद्यालयको तल्लो तला, शौचालय, इनार र पानी तान्ने यन्त्रसमेत नष्ट भएको जानकारी दिँदै कुल क्षति एक करोड रुपियाँभन्दा बढीको भएको बताउनुभयो। विद्यालयको आन्तरिक आर्थिक स्रोतले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न असम्भव रहेकाले पठनपाठन सुचारु गर्न बाह्य आर्थिक तथा प्राविधिक सहयोगको तत्काल आवश्यकता रहेको प्रधानाध्यापक थापाले अपिल गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर