सरकारले काठमाडौंबाट जुम्ला चिकित्सक पठायो तर, डा. केसीले जचाउन मानेनन्
शिक्षाखबर डेस्क
२२ असार २०७५, शुक्रबार
no immg

जुम्ला-असार, २२ / जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् । गत शनिबारदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य जाँच्न वीर अस्पतालबाट डाक्टरद्वय जीवन थापा र सुवास रेग्मी जुम्ला आएका थिए ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनपछि दुई विशेषज्ञ चिकित्सक जुम्ला आए पनि केसीले सरकारले खटाएका चिकित्सकबाट नजाँच्ने जवाफ दिएका थिए । त्यसपछि वीरका डाक्टरले उपचारमा संलग्न अन्य चिकित्सकलगायतबाट केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनीहरूले केसीको अवस्था सामान्य रहेको र आत्तिहाल्नुपर्ने नभएको ब्रिफिङ गरेका छन् ।

डा. केसीको उपचारमा संलग्न डा. प्रवीणकुमार गिरीले केसीको स्वास्थ्यमा अनशन बस्नुअघि र अहिले के फरक छ भन्ने अवस्था नभएको बताए । ‘अनसन बस्नुअघि स्वास्थ्य जाँच गर्न पाइएन, पहिले जँचाएको रिपोर्ट भएको भए अहिलेको रिपोर्टसँग दाँजेर यथार्थ बुझ्न सकिन्थ्यो । के बिग्रियो या के सुध्रियो कसरी भन्ने ?’ डा. गिरीले भने ।

अत्यधिक छाती दुखेपछि केसीलाई बिहीबार अस्पताल लगिएको थियो । उनलाई अक्सिजन र स्लाइन लगाएर सामान्य उपचार भइरहेको छ । उनले ग्लुकोज पानी र कतिपय औषधिसमेत खान नमानेको डा. गिरीले बताए ।

कांग्रेस सांसदले भेटे डा. केसीलाई
केसीलाई भेट्न कांग्रेसका तीन सांसद बिहीबार जुम्ला पुगे । सांसदहरू प्रकाश रसाइली, रंगमति शाही र दीनबन्धु श्रेष्ठ बिहीबार केसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनीहरुले केसीको मागमा आफूहरु र आफ्नो पार्टीको समर्थन रहेको बताए ।

‘निम्न वर्गका छोराछोरीले पनि उच्च शिक्षा पाउनुपर्ने, ग्रामीण क्षेत्रमा पनि मेडिकल कलेज स्थापना हुुनुपर्नेलगायतका माग केसीका व्यक्तिगत होइनन्,’ कांग्रेस प्रतिनिधिसभा सांसद रसाइलीले भने । उनले केसीका माग सरकारले सम्बोधन नगरे सडक र सदन तताउने चेतावनी दिए । सांसद रंगमती शाहीले डा. केसीको जीवन रक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गरिन् । प्रदेशसभा सांसद दिनबन्धु श्रेष्ठले पूर्वसहमति बंग्याएर ल्याउन खोजेको चिकित्सा शिक्षा विद्येयक नेपालीको हितविपरित भएको बताए ।

बन्द स्वास्थ्य सेवा सुचारु
केसीको जीवन रक्षाको माग गर्दै बन्द गरिएका कर्णालीका स्वास्थ्य संस्थाले बिहीबारबाट सेवा प्रवाह सुरु गरेका छन् । प्रशासनले सहजै सुरक्षित स्थालमा नलिएपनि, बुधबार स्वास्थ्यमा समस्या आउँदा प्रतिष्ठान लगेपछि स्वास्थ्य संस्था खोलिएका हुन् ।

डा. केसीले चिकित्सकलाई भने– ‘मलाई तपाईंहरूको आवश्यकता छैन, जानुस्’
स्वास्थ्य परीक्षण गर्न पुगेको चिकित्सकको टोलीलाई डा. केसीले फिर्ता जान भनेका छन् । डा. केसीले भने, ‘तपाईंहरू मेरो चिन्ता गरेर यहाँसम्म आउनुभयो, त्यसका लागि धन्यवाद ! मेरो हेरचाह र उपचार यहाँका मानिसले गर्छन् । तपाईंहरूको आवश्यकता छैन ।’

स्वास्थ्यमन्त्रीले चिकित्सकलाई भने– ‘त्यहीँ बसेर केसीको स्वास्थ्यको ख्याल गर्नुस्’
केसीले उपचार गर्न नमानेको डा. जीवन थापा र डा. सुवास रेग्मीले मन्त्रालयमा हुबहु जानकारी गराएका थिए । उनीहरूले जुम्लामै बस्ने कि फर्किने भनेर पनि सोधेका थिए । स्वास्थ्यमन्त्री यादवले जुम्लामै बसेर डा. केसीको स्वास्थ्यबारे निरन्तर निगरानी गर्न निर्देशन दिएका छन् । स्वास्थ्यमन्त्री यादवलाई उद्धृत गर्दै स्वकीय सचिव महेश चौरसियाले भने, ‘तपाईंहरू त्यहीँ बसेर केसीको स्वास्थ्य परीक्षणमा खटिनुस् । उनको स्वास्थ्य बिग्रिन नदिने हाम्रो जिम्मेवारी र दायित्व हो ।’

प्रतिक्रिया