लमजुङ जिल्ला अस्पतालमा बिरामीको संख्या वृद्धि
शिक्षाखबर डेस्क
२६ असार २०७५, मंगलवार
no immg

लमजुङ,२६-असार/मौसममा आएको परिवर्तनसँगै लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बिरामीको चाप बढेको छ । वर्षासँगै पछिल्ला केही दिनयतादेखि अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । विगत केही दिनदेखि ज्वरो, रुघाखोकी, दम, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताए ।

वर्षाको समयमा विशेषगरी पिउने पानीमा हुने प्रदूषणका कारण बिरामीको संख्यामा वृद्धि भएको उनले बताए । आजभोलि अस्पतालमा दैनिक झन्डै तीन सय बिरामी उपचारका लागि आउने गरेका छन् । सामुदायिक अस्पतालबाहेक जिल्लाका अन्य अस्पतालमा पनि बिरामीको चाप बढेको छ । खानपान र सरसफाइमा ध्यान नदिँदा बिरामीको संख्या बढेको देवकोटाले बताए ।

बिरामीमध्ये बालबालिका र वृद्धवृद्धाको संख्या बढी छ । उपचारका लागि आएका ६० देखि ७० वर्षमाथिका वृद्धवृद्धामा दम, छाती दुख्ने र झाडापखालाको समस्या बढी देखिएको अस्पतालका मेडिकल अफिसर डा. प्रकाश साहुले बताए ।

प्रतिक्रिया