डा. केसीको स्वास्थ्य गम्भीर
शिक्षाखबर डेस्क
२८ असार २०७५, बिहीबार
no immg

जुम्ला,२८-असार/ भान्जा ईश्वर शाहीको उपचारका लागि कालिकोटबाट जुम्ला आएका वीरबहादुर शाही जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सघन कक्षमा पुगे, जहाँ डा. गोविन्द केसी अनशनरत छन् ।

नजिकै पुगेर उनले केसीलाई नमस्कार गरे । केसीले पुलुक्क हेरेमात्रै । उनी बोल्न सकेनन् । शाहीले स्वास्थ्यलाभको कामना गरे । केसीले टाउको हल्लाएर स्वास्थ्यलाभको कामना स्वीकारे।

केसी अनशन बस्न थालेको बुधबार १२ औं दिन पुगेको छ । यस अवधिमा उनी निकै कमजोर भएका छन् । राम्ररी बोल्न सक्दैनन् । भेट्न आउने सर्वसाधारणलाई पुलुक्क हेर्छन् मात्रै । कसैले केही सोधे टाउको हल्लाएर इसारा गर्छन् । इसाराकै भरमा कुराकानी गर्छन्, त्यो पनि कमैमात्र । ‘बिहानको समयमा सुस्त बोल्नु हुन्छ,’ उनको निगरानीमा खटिएकी एक नर्सले भनिन्, ‘दिउँसो भयो भने बोली ठप्पै हुन्छ ।’ ती नर्सका अनुसार उपचारमा संलग्न चिकित्सकले असजिलो भएको छ भनेर सोध्छन् तर डा. केसी बोल्दैनन्, इसाराले नै एस र नो को उत्तर दिन्छन् ।

स्वासप्रस्वासमा देखिएको समस्याले केसीलाई बोल्न असजिलो भइरहेको उपचारमा संलग्न डा. प्रवीण गिरीले जानकारी दिए । ‘स्वासप्रस्वासमा देखिएको समस्याले उहाँलाई बोल्न समस्या भइरहेको छ,’ गिरीले भने, ‘यही समस्याले उहाँले इसारामै बढी कुरा गर्नुहुन्छ ।’ उनलाई बुधबार छातीमा पीडा बढेको छ ।

मुटुको चालसमेत अस्थिर रहेको जानकारी डा. गिरीले दिए । ‘मुटुको चाल तलमाथि भैरहेको छ,’ गिरीले भने, ‘छातीको दुखाइसमेत बढेको छ ।’ सेतो रक्तकोष घटेका कारण केसीलाई संक्रमणको समेत खतरा बढेको गिरीले बताए । रगतमा पोटासियमको मात्रासमेत घट्दै गएको छ ।डा. केसीका मागप्रति सरकार उदासीन बनेका विरोधमा प्रतिष्ठान शिक्षण अस्पतालका चिकित्सकले बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म हातमा कालोपट्टी बाँधेर धर्ना दिए ।

‘माग पूरा नभए जुम्लामै मर्छु’

यसैबीच जुम्लामा अनशनरत डा. केसीलाई काठमाडौं लैजाने सरकारको प्रयास फेरि विफल भएको छ । सरकारले बुधबार हेलिकप्टरबाट डा. केसीलाई जुम्लाबाट काठमाडौं लैजाने तयारी गरेको थियो ।

दिउँसो तीन बजे डा. केसीलाई काठमाडौं लैजान हेलिकप्टर तयारी अवस्थामा राखिएको थियो । तर डा. केसीले जुम्लामै बसेर अनशन गर्ने अडान दोहो¥याएपछि सरकारको तयरी विफल भएको हो । डा. केसीले आफ्ना माग पूरा नभए जुम्लामै मर्न तयार रहेको बताउँदै आएका छन्।

सरकारले नेपाल चिकित्सक संघका पदाधिकारीहरुसँगको समन्वयमा डा. केसीलाई काठमाडौ लैजाने तयारी गरेको थियो । चिकित्सक संघले डा. केसीसँग समन्वय गर्न खोजे पनि उनले नमानेपछि संघका पदाधिकारी जुम्ला आएनन् । ‘प्रधानमन्त्रीका निजी चिकित्सकले डा. केसीलाई काठमाडौंमा ल्याउनुपर्ने र त्यसका लागि चिकित्सक संघका तर्फबाट मलाई जुम्ला जानु भन्नुभएको थियो,’ संघका कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीले भने, ‘यो प्रस्ताव आएपछि मैले डा. केसीसँग समन्वय गर्दा उहाँका सहयोगीले काठमाडौं जान नमान्ने बताएपछि हामी काठमाडौंबाट जुम्ला जान रोकियौं ।’

यसअघि पनि केसीको स्वास्थ्य अवस्था बुझ्न आएका चिकित्सक संघका कोषाध्यक्ष बुढाथोकीले काठमाडौं जान आग्रह गर्दा केसीले मानेका थिएनन् । ‘म पहिले पनि डा. केसीको अवस्था बारे बुझेर काठमाडौं फर्किएको छु, उहाँले मान्नु हुन्न ,त्यसैले घुम्नका लागि मात्रै जुम्ला जाने कुरा हुन्न भन्ने जवाफ सरकारलाई दिएको छु,’ उनले नागरिकसँग टेलिफोनमा भने । डा. केसीसँगै रहेका उनका सहयोगी जीवन क्षेत्रीले पनि उनलाई काठमाडौं लैजाने प्रयास सफल बन्न नसक्ने जवाफ दिएका थिए । ‘सर (डा. केसी) लाई काठमाडौं लैजान मसँग प्रस्ताव आएको थियो,’ क्षेत्रीले भने, ‘सर कुनै पनि हालतमा काठमाडौं जान मान्नु हुन्न भनेर जवाफ दिएको छु ।’

यसबाट सरकार डा. केसीसँंग वार्ताभन्दा पनि उनलाई जसरी पनि काठमाडौ लैजान उद्धत रहेको पुष्टि हुन्छ । अनशनको १२ औं दिन बितिसक्दासमेत सरकारले वार्ता समिति बनाएको छैन । बुढाथोकीले डा. केसीका पक्ष भने वार्ताका लागि तयार रहेको जानकारी आफूले पाएको बताए ।

सरकार ‘संवेदनहीन’

दीपक दाहाल
काठमाडौं – चिकित्सा शिक्षामा सुधारका लागि सात सूत्रीय माग राखेर १२ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गरी समस्या समाधान गर्न सरकार उदासीन देखिएको छ।

केसी अनशन बसेको बुधबार १२ औं दिन हो । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै जाँदा सरकार औपचारिक रुपमा वार्ता गर्नसमेत तयार भएको छैन । उल्टै सरकारका मन्त्री एवं सत्तासीन दलका वरिष्ठ नेताहरुले अनशनप्रति कठोर अभिव्यक्ति दिँदै हिँडेका छन् ।

चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको सिफारिसअनुसार ऐन जारी गर्नुपर्ने प्रमुख माग राखेरै अनशन बसेकै अवस्थामा सरकार उनका मागलाई पन्छाएरै विधेयक अगाडि बढाउने तयारीमा छ । चिकित्सकको साझा संस्था नेपाल चिकित्सक संघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत आइतबार भेटेर तत्काल केसीका माग सम्बोधन गरी अनशन अन्त्यका लागि पहल गर्न आग्रह गरेको थियो । ‘हामीले प्रधानमन्त्री र मन्त्रीलाई भेटेर बारम्बार संवेदनशील बनिदिन आग्रह गरिरहेका छौं तर सरकारले अहिलेसम्म वार्ता समिति समेत बनाएको छैन्,’ संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले भने।

श्रेष्ठले केसीका मागप्रति संवेदनशील बन्न सरकारलाई दबाब दिन बुधबारदेखि नै देशभरका चिकित्सकले एक घन्टा धर्ना कार्यक्रम सुरु गरेको जानकारी दिए । केसीको जीवन रक्षाप्रति सरकारले संवेदनशील नभए चिकित्सकहरु सहेर बस्न नसक्ने उनले बताए । ‘एउटा वार्ता टोली बनाएर छलफल थालौंभन्दा पनि सरकारले सुनेन्,’ श्रेष्ठले भने ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीको मागविपरीत बनेको विधेयकलाई संसद्को बिहीबारको बैठकमा पेस गर्ने तयारी गरेका छन् ।

डा.केसी असहम हुँदाहुँदै पनि मन्त्री पोखरेलले चिकित्सा शिक्षासम्बन्धी अध्यादेशका महत्वपूर्ण विषय पन्छाएर प्रतिस्थापन विधेयक संसद् पु¥याएका थिए । कांग्रेसले विरोधमा संसद् अवरुद्ध पारेपछि सो विधेयक पारित हुन पाएन । असार २० गतेभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश निष्क्रिय भएको छ । अध्यादेश निष्क्रिय भएपछि सरकारले नयाँ चिकित्सा शिक्षा विधेयक ल्याएको छ ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले हडताल गर्ने चिकित्सकमाथि कारबाहीको चेतावनी दिइरहेकी छिन् । सत्तासीन दल नेकपाका नेता एवं सांसद योगेश भट्टराईले अनशनको अपमान गर्दै समस्या चर्काउने खालका अभिव्यक्ति दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले पनि डा. केसीको अनशनलाई अधिनायकवादको सज्ञा दिएका थिए । कानुनमन्त्री शेरबहादुर तामाङले समेत सरकार डा. केसीका माग सुन्न तयार नभएको अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्री ओलीले त चिकित्सक संघको टोलीसँगै डा. केसीले भनेअनुसार कुनै कलेजलाई सम्बन्धन दिन नरोकिने भन्दै चिकित्सकले हडताल गरे कारबाहीको चेतावनी दिएका थिए ।

चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलका संयोजक एवं त्रिविका पूर्वउपकूलपति केदारभक्त माथेमा डा. केसीको अवस्था गम्भीर हुँदा पनि सरकारले आफूखुसी विधेयक ल्याउनुलाई ‘संवेदनहीन कदम’ ठान्छन् । ‘

दस वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनुहुन्न भनी सिफारिस गरेकाहरु कराइरहेका छाैं, डा. केसी अनशनमा हुनुहुन्छ,’ माथेमाले भने, ‘सरकार बेप्रवाह कठोर भएर अगाडि बढिरहेको छ ।’ उनले विज्ञले किन १० वर्षसम्म सम्बन्धन दिन हुन्न, एउटा विश्वविद्यालयले किन ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिनु हुन्न भनेका रहेछन् भनेर प्रतिवेदनसमेत नहेरी ठूला दलका नेता र मन्त्री जथाभाबी बोल्दै हिँडेको बताए ।

अनशनको १२ दिनमा चिकित्सक संघले देशभर स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएपछि बल्ल मन्त्रालयले त्रिवि शिक्षण अस्पतालका विशेषज्ञसहितको टोली उपचारका लागि जुम्ला पठाउने तयारी गरेको बाहिर आएको छ ।

जुम्लाका स्थानीय चिकित्सकका अनुसार डा. केसीको स्वास्थ्य निरन्तर खस्किरहेको छ भने तत्काल गम्भीर अवस्था आएमा व्यवस्थापन गर्ने उपचार सपोर्टसमेत छैन । उपचारमा संलग्न चिकित्सक प्रवीणकुमार गिरीकाअनुसार डा. केसीलाई रिंगटा लाग्ने, मासंपेसी बाउडिने, पिसाबमा किटोन देखा पर्ने, सेता रक्तकोष क्रमिक रुपमा घट्दै जाने, रगतमा चिनिको मात्रा घट्ने र मुटुको चालमा उतारचढाब जस्ता समस्या देखिएका छन्।

केसी निकट चिकित्सक डा. अभिशेक सिंहले सरकार अनशनप्रति कठोर बनेर अनेक हल्ला चलाइरहेको बताए । ‘कहिले केसी अनशन छोडेर प्रधानमन्त्रीसँग वार्ता गर्न आउँदैछन् भनिन्छ, कहिले हेलिकप्टरबाट रेस्क्यु हुँदैछ भनिन्छ,’ उनले भने, ‘यो सबै सत्याग्रहप्रतिको संवेदनहीनता र अपमान हो ।’ केसीले पनि बुधबार विज्ञाप्तिमार्फत १२ दिनसम्म सरकार आफ्ना मागप्रति संवेदनहीन र गैरजिम्मेवार भएर प्रस्तुत भएको आरोप लगाएका छन् ।

उनले आफूलाई वार्ता विरोधी भनेर सरकारका मान्छेबाट फैलाइएको हल्ला पनि निराधार भएको बताएका छन् । ‘कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ । उनले सरकारले तीन करोड नेपालीको हित सुनिश्चित गर्न चाहे वार्ता सफल हुने बताएका छन् ।

यसैबीच सोलिडारिटी फर डा. केसी एलाइन्स, गंगामाया बचाऔं अभियान, नेपाल चिकित्सक संघ, नेपाल बार एसोसियसन, नेपाल प्राध्यापक संघ, नेपाल इन्जिनियार्स एसोसियासनलगायत संघसंस्थाले संयुक्त रुपमा विज्ञाप्ति जारी गरी डा. केसीमा माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

चिकित्सक संघले पनि बुधबार छुट्टै विज्ञाप्ति जारी गरेर सरकारलाई संवेदशील बन्न आग्रह गरेको छ । संघले केसीका मागबारे ठूला राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर जीवन रक्षाका लागि पहल लिन अपिल गर्ने जनाएको छ । संघले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलगायतसँग भेटी आन्दोलनको वास्तविकता र डा. केसीको जीवनरक्षाका लागि अविलम्ब वातावरण सिर्जना गरिदिन अपिल गर्ने जनाएको छ ।

प्रतिक्रिया