मुगु — क्याम्पस प्रशासनले कर्मचारी भर्नामा मनपरी गरेको भन्दै रारा बहुमुखी क्याम्पसका चन्दादाताहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
क्याम्पस प्रशासनले आफुहरुलाई कुनै जानकारी नै नगराई एकलौटी ढंगले कर्मचारी भर्ना गर्न नामलिष्ट तयार गरेको भन्दै एक दर्जन भन्दा बढी चन्दादाताले बुधबारदेखि क्याम्पसमा तालाबन्दी गरेर धर्नामा बसेका छन् ।
तालाबन्दी पछि प्रशासनिक कामकाज देखि पढाई समेत अवरुद्ध भएको छ । कुनै जानकारी नगराई एकलौटी ढंगबाट क्याम्पसले कर्मचारी भर्ना गर्न लागेको विरोधमा तालाबन्दी गरिएको एक चन्दादाता कम्मरसिंह खड्काले बताए । ‘क्याम्पसलाई ३० रोपनी जग्गा दिने हामीलाई थाहै नदिई कर्मचारी भर्ना गर्ने ?’ उनले भने ।
चन्दादाताले राखेको मागप्रति क्याम्पस प्रशासन छलफल गर्न तयार रहेको ताला खोलेर वार्तामा आउनु पर्ने क्याम्पस प्रमुख सुशिलकुमार भामले बताए ।