भाद्र १४, २०७५ – धनकुटा नगरपालिका ८ को याक्ते तथा तित्रिदाङ्ग क्षेत्रमा व्यवसायिक भुँईकटहर खेतीबाट स्थानीय लाभान्वित बनेका छन् । तित्रिदाङ्गका स्थानीय बीरते आठपहरियाले १५ रोपनी क्षेत्रफलमा व्व्यवसायिक भूईकटहर खेती गर्दै आएका छन् । १० हजार विरुवा लगाएर सो खेतीलाई व्यवसायिक रुप दिएका उनले एक सिजनमा कम्तीमा एक लाख रुपैयाँ आम्दानी हुने बताए । बर्षमा दुई पटक फल दिने भुँईकटरको बजार समेत सजिलै पाइने भएपछि स्थानीय कृषक यसतर्फ आकर्षित बनेका हुन् । गाउँघरमा नै मोटरबाटो पुगेपछि त्यहाँ उत्पादित भुँईकटहर धनकुटा बजार तथा धरान, ईटहरी लगायतका स्थानमा समेत पुग्ने गरेको छ ।