काठमाडौं ६ साउन /व्यवस्थापिका संसद् शिक्षा समितिले स्थानीय तहमा शैक्षिक जनशक्तिका लागि तत्काल उचित व्यवस्थापन गर्न ६ बुँदे निर्देशन दिएको छ ।समितिले शिक्षा मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, संघीय मामिला तथा व्यवस्था मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनपछि खटाइएका शिक्षाका कर्मचारी ‘मर्यादाक्रम नमिलेको’ भन्दै कार्यक्षेत्रमा नगएकाले त्यसबाट विद्यालय शिक्षामा पर्नसक्ने नकारात्मक असरबारे तत्काल सम्बोधन गर्दै समितिले बिहीबार मातहतका निकायलाई निर्देशन दिएको हो ।

जिल्ला शिक्षा कार्यालय प्रमुख अर्थात् जिल्ला शिक्षा अधिकारीसमेत भइसकेका उपसचिव र शाखा अधिकृतलाई उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा खटाइएपछि ‘मर्यादाक्रम’ कारण देखाउँदै उनीहरू जान मानेका थिएनन् । समितिले शिक्षा मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, संघीय मामिला तथा व्यवस्था मन्त्रालयको संयुक्त कार्यदल निर्माण गर्नसमेत निर्देशन दिएको छ ।

संविधानअनुसार विद्यालय शिक्षा व्यवस्थापन स्थानीय तहमा रहेको हुँदा स्थानीय सरकारलाई प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालय, विज्ञस“ग परामर्श गरी विद्यालय सञ्चालन, व्यवस्थापन, शिक्षक नियुक्ति, अनुगमन, मूल्यांकनलगायत शिक्षाको गुणस्तरीयताका लागि आवश्यक कानुन, कार्यविधि, नियमावली बनाउनुका साथै सार्वजनिक र निजी विद्यालयबीचको असमानतासमेत हटाउन स्पष्ट कार्ययोजनाका साथ कार्य अगाडि बढाउन समितिले निर्देशन दिएको छ ।

विद्यालय शिक्षामा आवश्यक सुधार गरी सार्वजनिक शिक्षा प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक बजेट व्यवस्थापन गर्दै पाठ्यक्रम, पाठ्यसामग्री तथा स्रोतसाधन व्यवस्था मिलाई निजी विद्यालयस“ग प्रतिस्पर्धी बनाउने कार्यलाई  प्राथमिकताका साथ अघि बढ्न पनि समितिले निर्देशन दिएको छ ।

स्थानीय तहमा विद्यालय शिक्षा प्रभावकारी बनाउने कार्यमा नेतृत्व प्रदान गर्न आवश्यक संगठनात्मक संरचना निर्माण गरी अगाडि बढ्न पनि समितिले निर्देशन दिएको छ ।

यसैगरी, स्थानीय तह सार्वजनिक शिक्षामा रहेको विद्यमान समस्या समाधान गरी शिक्षालाई गुणस्तरीय र सर्वसुलभ तथा व्यवस्थित बनाउन सथनीय तहका जनप्रतिनिधि, शिक्षाविद्लगायत सम्बन्धित निकायका पदाधिकारीस“ग व्यवस्थापिका संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका साथै विकास समितिको संयुक्त बैठक आयोजना गर्नेसमेत निर्णय गरेको छ ।
राजधानीमा प्रकाशित खबर ।