काठमाडौं २२ भदौ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झण्डै १ सय २० उपसचिव सरुवा गर्दा चलखेल गरेको आरोप कर्मचारीले लगाएका छन् । कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघले अधिकांस कर्मचारी नेकपा निकटकालाई सरुवा गरेको आरोप लगाउदै उक्त सरुवा पुनरावलोकन गर्न माग गरेको छ ।
सरुवामा विवाद भएपछि मन्त्रालयले ६ दिन अघि सरुवा सूची सार्वजनिक गरेपनि प्रदेशमा सरुवा भएका बाहेक झण्डै ७० जनालाई पत्र दिएको छैन । मन्त्री गिरिराजमणी पोखरेलको सचिवालयले मन्त्रालयको वेवसाइटमा प्रकाशित भएको सरुवाको सूची पुनः परिवर्तन गर्ने तयारी गरेकोे छ ।
स्रोतका अनुसार सरुवा भएका उपसचिवले पत्र माग्दा मन्त्रालयले अझै हेरफेर हुन सक्ने भन्दै पत्र दिन नमिल्ने जवाफ दिने गरेको एक उपसचिवले बताए ।
मन्त्री पोखरेलले आफु निकटका कर्मचारीलाई पाठ्यक्रम विकास केन्द्र, इभेन्ट परियोजनामा सरुवा गरेको कर्मचारीको आरोप छ । संघका केन्द्रीय सदस्य दिवाकर शर्माले मन्त्रीले सरुवामा मनपरी गरेको आरोप लगाउदै भन्नुभयो–हाम्रा तर्फका कर्मचारीलाई पुरै पाखा लगाइएको छ ।
९० प्रतिशत त नेकपा निकटका नै होलान हाम्रो त १० प्रतिशत पनि छैन–उहाले भन्नुभयो । संघका पदाधिकारीले यो विषयमा जानकारी लिन मन्त्रीलाई भेट गर्न खोज्दा निजी सचिवालयले इन्कार गर्ने गरेको आरोप लगाएका छन् ।
‘मन्त्रीले पद सम्हाल्नु भएको ५ महिना भयो हामीले अहिलेसम्म शुरुमै ५ मिनेट मात्रै भेटेका छौ–शर्माले भन्नुभयो । मन्त्रीसंग पटक पटक भेट गर्न गयो, सचिवालयले रोक्छ, भेट गर्ने दिदैन उहाले भन्नुभयो । मनपरी रुपमा गरिएको सरुवामा पुनविचार नगरे लगातार विरोध गर्नुको विकल्प नभएको संघको भनाई छ । ‘मन्त्रीलाई हटाउन त सक्दैनौ , लगातार विरोध जारी राख्छौ–शर्माले भन्नुभयो ।
कर्मचारीको विरोधको कारण मन्त्रालयले प्रदेश बाहेक सरुवा भएका उपसचिवलाई पत्र दिन नसकेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
सरुवाको लिष्ट सार्वजनिक भयो तर पत्र दिन सकेको छैन, अझै सरुवा लिष्टमा चलखेल भैसकेको छ–मन्त्रालयका ती अधिकारीले भने । मन्त्रालय कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव वालकृष्ण पन्थीले सरुवा भएका कर्मचारीलाई पत्र दिने तयारी भैरहेको बताउनुभयो ।
उहाले भन्नुभयो–पत्र तयारी गरिरहेका छौ केहीलाई हेरफेर गर्ने तयारी मन्त्रालयले गरेको छ । उहाले सरुवाको लिष्ट सार्वजनिक भएपछि पत्र नपाउने कुरै नहुने बताउनुभयो । मन्त्री र पार्टी निकट केही कर्मचारीहरुले मनपर्ने स्थानमा सरुवा गर्न दवाव दिदै आएका थिए ।
मन्त्री पोखरेलले पार्टी निकटका कर्मचारीलाई केन्द्रको मुख्य निकायमा सरुवा गर्नुभएको छ । मन्त्रालयले भदौ १५ गते सरुवा लिष्ट सार्वजनिक गरेको थियो । सार्वजनिक गरेको सुची अनुसार मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका ७ वटा प्रदेशमा ५६ जना, शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा १३, शिक्षक सेवा आयोगमा ६, मन्त्रालयको पुल दरबन्दीमा ४, राष्ट्रिय परीक्षा बोर्डमा २, विद्यालय शिक्षक किताबखानामा ४, शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) मा ४ मन्त्रालयमा १, जना कर्मचारीको सरुवा गरिएको छ ।
हामीले सरुवा भएको जानकारी पायौ तर पत्र पाएनौ सरुवा भएपछि पत्र लिन पुगेका एक उपसचिवले नेपाल समाचारपत्रसंग भने अझै मिलाउन बाँकी रहेको छ भन्दैछन, के हुन्छ थाहा छैन ।
मन्त्रालयको वेवसाईटमा मात्रै सरुवा हुने होकी पत्र पाएर सरुवा भएको ठाउमा जाने हो थाहा छैन । हुलाकबाट भएपनि ६ दिनभित्र पत्र आइसक्थो, मन्त्रालयले पत्र पठाउन पनि एक साता लगाएको छ–एक उपसचिवले भने । काँग्रेस निकट कर्मचारीको विरोधको कारण मन्त्रालयले पत्र दिन नसकेको बताइएको छ ।