स्याउको जामले आत्मनिर्भर
शिक्षाखबर डेस्क
४ पुष २०७५, बुधबार
no immg

कालिकोट : तिलागुफाका किशोरीहरू जाम उत्पादन गरी आयआर्जनमा जुटेका छन्। तिलागुफा नगरपालिका–३ का स्थानीय १८ वर्षदेखि २१ वर्षसम्मका किशोरी मिलेर महादेव फलफूल प्रशोधन उद्योग सञ्चालन गरिरहेका छन्। उद्योगमार्फत उनीहरूले स्याउबाट जाम उत्पादन गरी आम्दानी गर्न थालेका हुन्।

जिल्लाको सबैभन्दा बढी स्याउ उत्पादन हुने क्षेत्र तिलागुफाका किशोरीले नगरपालिका र युवा सशक्तिकरण परियोजनाको सहयोगमा जाम उत्पादन गर्न थालेका हुन्। तिलागुफा नगरपालिकाको दुई लाख ७५ हजार र युवा सशक्तिकरण परियोजनाको चार लाख सहयोगमा वडा कार्यालयको भवनमा किशोरीले जाम उत्पादन गर्न थालेका छन्।

यहाँका किशोरीले स्याउको जाम उत्पादन गर्न थालेपछि आत्मनिर्भर बन्न थालेका छन्। घरायसी काम सकेर १० बजे उद्योगमा पुग्ने गरेका उनीहरूले जाम उत्पादन गर्दै आएका छन्। फोइकोटका किशोरीले ५० क्विन्टल स्याउ भन्डारण गरी स्याउको जाम उत्पादन गर्न लागेको स्थानीय किशोरी सविता शाहीले बताइन्। उनले जाम उत्पादनमा स्याउ, चिनी साइट्रिक एसिड, कलर, बास्ना, केयमएसलगायत रासायनिक पदार्थ मिसाएर बनाउने गरेको जानकारी दिइन्।

किशोरीले उत्पादन गरेको जामको बजारीकरण आफूहरूले गरिदिने गरेको तिलागुफा नगरपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए। उनले तिलागुफामा उत्पादन भएको जाम नाग्मबजार, जुम्ला, कालिकोट सदरमुकाम, सुर्खेत, बाँके र बर्दियासम्म पुग्ने गरेको जानकारी दिए। १५ जना किशोरीबाट सुरु भएको जाम उत्पादनमा आगामी आर्थिक वर्षभित्र ५० जना किशोरीलाई रोजगार दिने लक्ष्य लिएको उनले सुनाए।

प्रतिक्रिया
सम्बन्धित खबर