१० पुस, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन् ।
विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा. भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विधि प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् ।
प्राध्यापक संघले नियुक्ति खारेज नभएसम्म आन्दोालन जारी राख्ने जनाएको छ । सङ्घका संयोजक यज्ञराज पाठकले अवैधानिक नियुक्ति खारेज र प्रमुख डा. विष्टको राजीनामा समेत माग गरे । ‘प्रमुखले आवेदनसमेत दिने मौका नदिई गुपचुप नियुक्ति दिए’, उनले भने ।
प्रमुखको काम, कर्तव्य र अधिकारमा क्याम्पसका लागि आवश्यकपर्ने शिक्षक, कर्मचारीको दरबन्दी कार्यकारी परिषदमा सिफारिश गर्ने व्यवस्था भए पनि विष्टले एकलौटीरुपमा नियुक्ति दिएपछि एक सातादेखि सुदूरपश्चिम विश्वविद्यालयमा तनाव छ ।
विभिन्न विद्यार्थी संगठन आन्दोलनमा रहेका बेला प्राध्यापक संघले उक्त विषयलाई लिएर संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । संयोजक पाठकका अनुसार संघका ८० प्राध्यापक आन्दोलनमा छन् । ‘विनासूचना, विनापरीक्षा कर्मचारी राख्न पाइन्न, विधि प्रक्रिया मिच्ने काम भएको छ,’ उनले भने।
क्याम्पस प्रमुख डा. विष्टले आफ्नो अधिकार प्रयोग गरेर प्रक्रियासंगत ढंगबाट आंशिक शिक्षक र कर्मचारी नियुक्त गरेको बताए ।