चितवनमा प्रदेश प्रहरी विद्यालय
शिक्षाखबर डेस्क
२० पुष २०७५, शुक्रबार
no immg

चितवन / प्रदेशस्तरीय प्रहरी विद्यालय चितवनमा बन्ने भएको छ । प्रदेश ३ स्तरीय सो विद्यालय निर्माणका लागि भरतपुर महानगर क्षेत्रमा जग्गाको खोजी भइरहेको छ । आगामी शैक्षिक सत्रबाट सो विद्यालयमा पठनपाठन सुरु हुने विद्यालयका समादेशक प्रहरी उपरीक्षक धर्मबहादुर अधिकारीले बताए । ‘जग्गाको खोजी भइरहेको छ, यसका लागि स्थानीय तहसँग समन्वय गर्दै छौँ ।’ एसपी अधिकारीले भने, ‘सुरुमा जुन तहको भए पनि विद्यालय सञ्चालन हुन्छ । विद्यालय सञ्चालनका लागि २५ जनाको दरबन्दीसमेत स्वीकृति भइसकेको छ ।’ पहिला क्षेत्रीयस्तरको विद्यालय हुने गरेकामा संघीयतापछि प्रदेशस्तरको प्रहरी विद्यालय बन्न लागेको हो । विद्यालयका लागि भौतिक पूर्वाधार निर्माण जग्गा प्राप्तिपछि सुरु गर्ने एसपी अधिकारीले बताए । नयाँ शैक्षिक सत्र सुरु हुन ४ महिना मात्र बाँकी रहे पनि विद्यालय सञ्चालनका लागि तयार रहेको उनको भनाइ छ ।

जग्गा दिन महानगर तयार
भरतपुर महानगरकी मेयर रेणु दाहालले प्रहरी विद्यालय सञ्चालनका लागि दिने गरी जग्गाको खोजी भइरहेको बताइन् । उनले दुई चार ठाउँमा जग्गा हेरिसकिएको र सबै हिसाबले उपयुक्त ठाउँमा विद्यालय राख्ने गरी जग्गा उपलब्ध गराउने बताइन् । भरतपुर महानगर र सिंगो चितवनको विकाससँग जोडिएको विषयमा आवश्यक सहयोग गर्न महानगर सदा तत्पर रहेको मेयर दाहालको भनाइ छ । चितवनमा सैनिक विद्यालय पनि सञ्चालनमा छ । यो खैरहनी नगरपालिकामा पर्छ । चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले पनि जग्गाका लागि आवश्यक पहल भइरहेको जानकारी दिए । प्रहरीभित्रको भिन्दै संयन्त्रले विद्यालयका लागि काम गरिरहेको र छिटै यस कामले सार्थकता पाउने एसपी राठौरले विश्वास व्यक्त गरे ।

५ ठाउँमा प्रहरीको नयाँ भवन
प्रदेश ३ सरकारले चितवनका ५ ठाउँमा प्रहरी चौकी भवन बनाउने भएको छ । चालू आर्थिक वर्ष ०७५÷७६ मै निर्माण सक्ने गरी नयाँ भवन बन्न लागेको हो । माडीको सोमेश्वर र कल्याणपुर चौकी, भरतपुरको सीताराम चौकी, खैरहनीमातहतको चैनपुर चौकी र रत्ननगरमातहतको पञ्चकन्या चौकीका लागि भवन बन्ने भएको चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए ।

प्रतिक्रिया