मौरीका लागि कृत्रिम आहाराको खोजी
शिक्षाखबर डेस्क
२२ पुष २०७५, आईतवार
no immg

जुम्ला/चरन क्षेत्रको अभावले जुम्लामा मौरीपालन व्यवसाय संकटमा परेको छ । कृषक र विज्ञले कृत्रिम आहारको खोजी गर्नुपर्ने बताएका छन् । मौरीपालक कृषकले आहारा नहुँदा व्यवसाय घटाउँदै लगेको बताए । चन्दननाथ नगरपालिका–३ खोलीका रामकृष्ण बुढ्थापाले पहिलेको भन्दा अहिले मौरीपालन कम गरेको बताए । ‘आहार नभएपछि मौरी घटेका छन्, मह उत्पादन कम भएको छ,’ उनले भने ।

एक वर्षअघि उनका एक सय ५० घार थिए । अहिले ७९ घार मात्रै बाँकी रहेको उनले बताए । रडीखल्ला जंगलमा २२ वर्षदेखि मौरीपालन गर्दै आएका उनले चरन क्षेत्रकै अभावले घार घटाउनु परेको बताए । ‘२३ लाख आम्दानी होला भन्ने सोचेको थिएँ, १० लाख मात्रै भयो,’ उनले भने ।

यहाँका अन्य कृषकले पनि मह उत्पादन घटेको बताए । मौरीका घार धेरै नघटे पनि मह उत्पादन कम भएको उनीहरूको भनाइ छ । जिल्लामा रहेका ३० हजार घारमध्ये ५० प्रतिशत घटेको तथ्यांक छ ।

मौरी विकास केन्द्र, काठमाडौंका प्रमुख तीर्थकुमार सिंहले पनि जुम्लामा चरन क्षेत्र अभाव हुँदै गएको बताए । ‘सेतो चिनी नामक जडीबुटी अव्यवस्थित रूपमा उत्खनन, पाटन क्षेत्रका सबै फूल मासिएका छन् । जसले मौरीको आहार कम भएको छ,’ उनले भने ।

कृत्रिम आहारामा जोड
प्राकृतिक रूपमा पाइने मौरीको आहारा कम भएपछि कृत्रिम आहारमा जोड दिनुपर्ने विज्ञले बताए । कृषकले पनि घारको सरसफाइ, तापक्रमण व्यवस्थापन तथा अन्य जनावरको आक्रमणबाट जोगाउनुपर्ने बताए । चिसो समयमा ५० प्रतिशतले मौरी घट्ने भएकाले घार र चरन क्षेत्रको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने मौरीविज्ञ सहदेव हुमागाईले बताए ।

स्थानीय सरकारले पनि मौरीपालन प्रवद्र्धन गर्नुपर्ने विज्ञको भनाइ छ । चरन क्षेत्रको व्यवस्थापन तथा सरसफाइ र सुरक्षामा ध्यान दिनुपर्ने मौरीविज्ञ हुमागाईले बताए । ‘मौरीमा लाग्ने अज्ञात रोगलाई नियन्त्रण गर्न भिटामिन वि कम्प्लेक्स, एन्टिबायोटिक, चिनी चास्नी, घारको सरसफाइलगायतको उपचार पनि गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया