तोरी बाली सप्रियो
शिक्षाखबर डेस्क
२६ पुष २०७५, बिहीबार
no immg

मोरङ / तोरीको फूलले पहेँलपुर देखिएको कानेपोखरी गाउँपालिका कृषक हर्सित छन् । यस वर्ष शीतलहर नचलेकाले तोरी बाली सप्रेपछि उनीहरू खुसी भएका हुन् ।

मोरङको कानेपोखरी गाउँपालिका २ केरौनमा लहलहाउँदो तोरी बाली हेर्दै स्थानीय कृषक । तस्बिर : देवनारायण साह/कान्तिपुर

कानेपोखरी २ केरौनका सुकुम्बासी परिवारका स्थानीय खकु मुडियारीले ५ बिघा जग्गा ठेक्कामा लिएर खेती गरेका छन् । उनले विराटनगर बस्दै आएका स्थानीय कर्णबहादुर निरौलाको जग्गा वार्षिक २ सय मन धानमा ५ वर्षका लागि ठेक्का लिएर दुई वर्षदेखि खेती गर्दै आएका हुन् । ‘पुस्तौं पुस्तादेखि अर्काको घरखेतमा ज्याला मजदुरी गरेर जीवन गुजारा गर्दै आएका परिवारको म हुँ,’ उनले भने, ‘कृषि मजदुर अभावसँगै सुविधापूर्ण जीवन निर्वाहका लागि गाउँका हुनेखाने वर्ग सहरकेन्द्रित बसाइ गर्न थालेकाले म जस्ता मजदुरले आफैं खेती सुरु गरेका छन् ।’

उनले ठेक्का लिएको जग्गामध्ये अढाई विघामा तोरी बाली लगाएको बताए । ‘गत वर्ष गरेको तोरी बालीमा सितलहर लाग्न नदिन विषादी हालेर राम्रो आम्दानी भएपछि यस वर्ष पनि तोरी बाली लगाएको छु,’ उनले भने, ‘गत वर्ष स्थानीय जातको कालो तोरी लगाउँदा पनि ५० मन फलेकोले राम्रो आम्दानी भएको थियो ।’

यस वर्ष उन्नत जातको पहेँलो तोरी लगाएको र सितलहर पनि नचलेकाले ७५/८० मनसम्म तोरी फल्ने मुडियारीले बताए । ‘नगदे बाली तोरी बिक्री गर्न पनि समस्या छैन,’ उनले भने, ‘व्यापारी र आफै मिलमा तेल पेलाएर खानेहरूले घरमै आएर तोरी खरिद गरेर लैजाने गरेका छन् ।’ आफूले पनि बर्षभरी आफैले उब्जाएको तोरीको शुद्ध तेल खान पाएको मुडियारीले बताए ।

उनले यसअघि पसलबाट एक सय ग्राम तेल खरिद गरेर ल्याइ खाने गरेको तर अहिले आफैले उब्जाएपछि २० किलो एकै पटक पेल्न लगाएर खान पाएको बताए । स्थानीय कृषक लछुमन चौधरीले यस बर्ष ३ विघामा नगदे बाली तोरी खेती गरेका छन् । उनले यस वर्ष शीतलहर नचलेकोले तोरी बाली सप्रेको बताए । ‘यस वर्ष १ विघामा स्थानीय प्रजातिको कालो र २ विघामा उन्नत प्रजातिको पहेँलो तोरी लगाएको छु,’ उनले भने, ‘यस वर्ष खेतमा तोरी हेर्दा ३ विघामा कम्तीमा ८० मन तोरी फल्ने भएको छ ।’

गत वर्ष लगाएको अढाई बिघामा शीतलहरले राम्रो उब्जनी नभएको बताए । चौधरीले गत वर्ष लाही किरा लागेर २० मन मात्रै फलेको बताए । उनले गत वर्ष प्रतिमन ३ हजारको दरले तोरी बिक्री गरेको सुनाए । उनले तोरीसँगै डेढ बिघामा मसुरो खेतीसमेत गरेको छ ।

उनले खेती गरेरै जेठो छोरा विद्यानन्दलाई बीएड र कान्छालाई एसएलसी पास गराएर प्रहरीमा जागिर खान योग्य बनाउनुका
साथै छोरीको पनि राम्ररी नै विवाह गरेको बताए । खेतीले नै केहीजग्गाजमिनसमेत जोड्न भ्याएको उनले सुनाए ।

यस्तै, स्थानीय रामकुमार झाँगडले पनि २ बिघा खेतमा तोरी खेती गरेको बताए । ‘स्थानीय जातको कालो तोरी प्रतिकठ्ठा एक मन फल्ने गरेको छ,’ उनले भने, ‘उन्नत जातको पहेँलो तोरी राम्ररी खेत खनजोत गरेर मल हालेर गर्दा प्रतिकठ्ठा २ मनसम्म फल्ने गरेको छ ।’ गाउँमा कृषकहरू जनचेतनाको अभावमा परम्परागत तरिकाले नै कालो तोरी गर्दै आएको झाँगडले सुनाए ।

‘उन्नत जातको बिउ, मल हालेर राम्ररी खेत खनजोत गरेर गर्न सकिए तोरी खेतीबाट राम्रो आमदानी हुन सक्छ तर कृषकलाई त्यसबारेमा जानकारीको अभाव छ,’ उनले भने, ‘अहिले स्थानीय सरकार भएकाले वैज्ञानिक तरिकाले व्यावसायिक खेती गर्न कृषकहरूलाई सुविधा थपिने अवस्था निर्माण भएको छ ।’ उनीहरू जस्तै कानेपोखरीलगायत स्थानीय तहका कृषकहरूले लगाएको तोरी बालीले अहिले गाउँखेत तोरीको फूलले पहेँलपुर देखिएको स्थानीय भक्तबहादुर दनुवारले बताए । गाउँमा अहिले तोरीको फूलले चारैतिर पहेँलैपहेँलो देखिएकोउनले सुनाए ।

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवले २६ लाख ४२ हजार ३ सय १० हेक्टरमा फैलिएको यस प्रदेशमा ९ लाख २७ हजार ४ सय १९ हेक्टर जग्गा खेती योग्य रहेको बताए जसमध्ये खेती भइरहेको ८ लाख ९४ हजार ७ सय ६५ हेक्टर जग्गामध्ये तेलहन बाली ३८ हजार १ सय ८५ दशमलव ५ हेक्टरमा भइरहेको बताए ।

प्रतिक्रिया