काठमान्डौ / असोज अन्तिममा खोलिने विज्ञापन सरकारकै आग्रहमा दुर्इ महिना पर सारेको लोकसेवाले अझै कहिले नयाँ विज्ञापन खोल्न पाउने हो ठेगान छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम नसकेसम्म नयाँ कर्मचारीको आवश्यकता कति भन्ने एकिन गर्न नसक्ने बताएपछि लोकसेवा आयोगको तयारीमा जुटेका विद्यार्थीले अझै केहि समय कुर्नपर्ने भएको छ ।
कुन तहमा कति कर्मचारी आवश्यक पर्ने भन्ने नै एकीन नभएकाले नयाँ आवश्यकतासम्बन्धी विवरण आयोगलाइ पठाउन नसकेको मन्त्रालयको तर्क छ । प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन नगरी नयाँ विज्ञापन खोल्दा संवैधानिक र कानुनी जटिलता समेत रहेको सरकारी पक्षको भनाइ छ ।
यसअघि हत्पत्ति कार्यतालिका परिवर्तन नगरेको आयोगले सरकारले विशेष अनुरोध गरेका कारण दुर्इ महिना पछाडि सारिदिएको बताउँदै आएको थियो । तर अहिले भने सरकारले आफूहरुसँग कुनै परामर्श पनि नगरेको र मागपत्र पनि नपठाएकाले यो वर्ष नयाँ कर्मचारी भर्नाको विषय लगभग टरेको आयोगको निष्कर्ष छ ।
हुन पनि सरकारले समायोजनका लागि माघ १ गतेसम्म कर्मचारीलार्इ आवेदन दिने मिति नै तोकेको छ । त्यसपछि सरासर काम अघि बढे पनि प्रक्रिया टुंगिन दुर्इ देखि तीन महिना लाग्नेछ । त्यसपछि व्यावहारिक कारणले नै आयोगलाइ नयाँ भर्ना खोल्न कठिन हुनेछ । यसको प्रत्यक्ष असर भने लोकसेवा परीक्षाको तयारी गरिरहेका करिब सात लाख युवालार्इ पर्नेछ ।