नेताका नामका अस्पताल हटाउन खोजेकामा कांग्रेसको आपत्ति
शिक्षाखबर डेस्क
१ माघ २०७५, मंगलवार
no immg

काठमाडौँ / कांग्रेसले आफ्ना दुई नेताका नाममा स्थापित राष्ट्रियस्तरका अस्पताललाई संघीय सरकारबाट अलग्याउन खोजिएकामा आपत्ति जनाएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका हुन् ।

सरकारले राष्ट्रियस्तरका ११ मध्ये गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामबाट स्थापित अस्पताललाई मात्रै पूर्वाग्रही ढंगबाट संघीय सरकारबाट अलग्याउन खोजेको उनले बताए । नेता दिलेन्द्र बडूका अनुसार गत बिहीबारको मन्त्रिपरिषद् बैठकले ११ मध्ये ९ अस्पताललाई गठन आदेशमार्फत केन्द्रीय सरकारमातहत राख्ने निर्णय गरेको छ ।

दुई अस्पतालबारे केही नबोलिएपछि स्वास्थ्य मन्त्रालयले केन्द्रीय सरकार मातहतबाट हटाउने टिप्पणी उठाएको सूचना आफूहरूलाई आएको उनले बताए । नेता पौडेलले पत्रकार सम्मेलनअघि प्रधानमन्त्रीलाई टेलिफोन गरेर यस विषयमा छलफल गर्न समय मागेका थिए । तत्काल समय नमिलेपछि उनले पत्रकार सम्मेलन गरेका हुन् । ‘यसलाई हामीले सामान्य र हल्का ढंगले लिएका छैनौं, यो कांग्रेसको अस्तित्वसँग जोडिएको विषय हो,’ पौडेलले भने, ‘एक पटक प्रधानमन्त्रीसँगै भेटेर कुराकानी गर्छौं । निर्णय नसच्चिए सदन बन्द गर्छौं । सडकमा पनि आन्दोलन गर्छौं ।’

तनहुँको दुलेगौंडामा गिरिजाप्रसाद कोइरालाका नाममा श्वासप्रश्वास र सुशील कोइरालाका नाममा बाँकेमा क्यान्सर अस्पताल सञ्चालित छ । यी अस्पतालको पूर्वाधार विकासका लागि राज्यले बर्सेनि करोडौं खर्चंदै आएको छ । केन्द्रीय सदस्य शेखर कोइरालाले दुई नेताका नामको अस्पताल विघटनको निर्णय गरेर सरकारले गल्ती गरेको बताए । कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘दुई तिहाइको दम्भ र उन्मादमा सर्वसत्तावादी सरकारले यस्तो निर्णय गर्नु ठूलो गल्ती हो ।’ उनले गिरिजाप्रसाद र सुशीललाई नेपाली राजनीतिका युगपुरुष भन्दै उनीहरूको नामका संस्था विघटन गर्ने सरकारलाई सत्तामा बसिरहने नैतिकता नभएको बताए ।

‘निर्मला घटनामा शक्तिशाली मान्छे’
वरिष्ठ नेता पौडेलले सरकार शान्तिसुरक्षा, सुशासन र विकासको सवालमा असफल भएको दाबी गरे । वाइडबडीजस्ता काण्ड घटाएर मन्त्रीहरू भ्रष्टाचारको दलदलमा फसेको, निर्मला पन्तको बलात्कार र हत्याकाण्डका दोषी पक्राउ गर्न नसकेको, विकास र समृद्धिको दिशामा सरकार उल्टो बाटो हिँडेको पौडेलको आरोप थियो । उनले निर्मला पन्त हत्याकाण्डमा शक्तिशाली मान्छे मुछिएको दाबीसमेत गरे । ‘शक्तिशाली मानिसको संलग्नता भएकै कारण दोषी फेला पर्न नसकेका हुन्,’ उनले भने ।

‘विपक्षीलाई सिध्याउने बाटो लिएको हो भने हामी कठोर कदम चाल्छौं,’ पौडेलले चेतावनी शैलीमा भने, ‘अब हाम्रो संघर्ष सडकदेखि सदनसम्म चल्छ ।’ तनहुँस्थित गिरिजाप्रसाद श्वासप्रश्वास अस्पताल क्षेत्रका बासिन्दा एवं कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले गिरिजाप्रसाद र सुशील कोइरालाको राजनीतिक योगदानलाई सरकारले स्वीकार नगरेको बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने सोमबारसम्म ११ वटै अस्पताल केन्द्र सरकारमातहत रहेको बताए ।

प्रतिक्रिया